फिल्म । लामो समयपछि अभिनयमा कमब्याक गरेका अभिनेता भुवन केसी अभिनीत फिल्म ‘मिस्टर नेपाली’ को दशैं लक्षित गीत ‘हे मेरा परदेशी दाजु भाई’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । धन कमाउनका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुको पीडा सार्वजनिक गीतमा दर्शाइएको छ । गीतले वर्तमान नेपालको पट्यारलाग्दो अवस्थाको वर्णन गर्छ ।
फिल्मभित्र समावेश केही दृश्यहरु समावेश गरिएको सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत छ । फिल्ममा अभिनेता भुवन डबल रोलमा छन् । उनीसँगै फिल्ममा सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको अभिनय छ ।
देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रेमराज दाहालको लगानी छ । फिल्ममा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । परदेशमा रहेपनि मन त तेपाली नै हुन्छ भन्ने कथालाई यो फिल्मले प्रस्तुत गरेको छ । ‘मिस्टर नेपाली’ मा अभिनेता भुवनले पिता र छोराको भूमिका निभाएका छन् । कात्तिक २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मले राष्ट्रियता र प्रेमको कथा भन्ने बताइएको छ ।










