‘सुर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा

550 Shares

फिल्म । पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्ने गरेको जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्न गरिसकेपछि यतिबेला दोस्रो शृंखलाको घोषणा राजधानीमा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडक अध्यक्ष बासुदेव लामिछाने दोस्रो शृंखला आउँदो नोभेम्बरमा हुने घोषणा गरेका हुन् । ‘अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस भन्ने उदेश्यका साथ् यसको सुरुवात गरेको हुँ’ बासुदेवले भने ‘यसपटक हामी स्थानीय सरोकारवालासंग अन्तरक्रिया पनि गर्दैछौ नेपाली फिल्मकर्मीको साथमा । यसले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वाश छ ।’ अभिनय , गायन , नृत्य र हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराई , चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले , अभिनेता भुवन केसी , अभिनेत्री गौरी मल्ल , गायक रामकृष्ण ढकाल , अभिनेत्री श्वेता खड्का , गायक हेमन्त शर्मा , अभिनेत्री सरिता लामिछाने , निर्देशक ऋषि लामिछाने , गायक कमल खत्री , अभिनेता प्रशान्त ताम्राकार , गायक युवराज चौलागाईं , गायिका मिलन अमात्य र एञ्जिला रेग्मी , गायक हेमन मोक्तान , निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो ।

‘हामीले अगाडी सारेको केहि अभियानमा यो अवार्डसंग सहकार्य गर्ने अवस्था रहेकाले हामीले सहकार्य गरेका हौ’ बोर्ड अध्यक्ष भट्टराई भन्छन् ‘पछिल्लो समय नेपाली फिल्मको बजारको रुपमा जापान पनि राम्रो छ । त्यसलाई बढाउने हाम्रो उदेश्य रहनेछ । अघिल्लो वर्ष यो अवार्ड राम्रो भएको सुनेको छु त्यसैले पनि हामी सहकार्य गर्न तत्पर भएका हौ । नेपाली फिल्मको हितलाई सोचेर कसैले केहि प्रस्तावना गर्छ भने हामी सदैव सहकार्य गर्न तयार छौ ।’ कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो ।

यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । केहि दिनमा नोमिनेशन सार्वजनिक गरिनेछ र नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो । अवार्ड अगाडी साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको हो । अघिल्लो वर्ष अवार्डमा सहभागी भएका भुवन केसीले यसको तारिफ गरे । ‘नेपाली कलाकारलाई कसरि सम्मान दिनु पर्छ भन्ने सुर्य कर्पोरेशन र बासुदेवजीलाई थाहा छ’ उनले भने ,’ म धेरै अवार्डमा सहभागी भएको छु तर यो अवार्ड साचै हाम्रो लागि गर्व गर्न लायक अवार्ड हो र त्यसैले यसपटक पनि सहभागी त हुनेनै छौ साथै हामीले पनि यसलाई अगाडी बढाउँन मदत गर्नु हाम्रो कर्तव्य हो ।’

भुवनसंगै अघिल्लो वर्ष अवार्डमा सहभागी भएका चलचित्र संघका अध्यक्ष उदयले पनि अवार्ड अझै राम्रो हुनेमा विश्वास व्यक्त गरे । अवार्डमा गत वर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीतसंगीतले सहभागिता जनाउन पाउनेछन् । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान , एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । परेका आवेदनको आधारमा छनौट समितिले टप ३ को नोमिनेशन सार्वजनिक गर्नेछ । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् ।

तस्वीरहरु : आर्यन बिमली

Facebook Comments