‘भिडियो पसल’ बाट घरमै फिल्म

फिल्म । पछिल्लो समय बढ्दो डिजिटल प्ल्याटफर्मले गर्दा विस्तारै दर्शक सुविधा अनुसार फिल्म हेर्ने गर्छन । हलमै पुगेर फिल्म हेर्ने भन्दा पनि आफ्नो सुविधा अनुसार दर्शकले फिल्म हेर्न थालेका छन् । इन्टरनेट भएपछी यूट्युबमा निःशुल्क र अन्य केही एप्समा सीमित रकम तिरेपछि चाहेको फिल्म हेर्न सकिन्छ । विश्व बजारमा नेटफ्लिक्सले आफ्नो प्रभुत्व जमाएको अवस्थामा नयाँ नेपाली फिल्म हेर्न चाहनेका लागि एक एप्स लञ्च भएको छ ।

‘भिडियो पसल’ नाम दिइएको एप्सको सम्पूर्ण व्यवस्थापन अधिकार ओएसआर डिजिटलसँग सुरक्षित छ । यो एप्स अन्य देशमा बसोबास गर्ने व्यक्तिहरुले पनि प्रयोग गर्न सक्ने ओएसआरका प्रबन्ध निर्देशक ओम अग्रवालले जानकारी दिए । नेपाली फिल्म क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका साथै बजारको दायरालाई फराकिलो बनाउन यो एप्स सञ्चालनमा ल्याएको उनले बताए । हलमा प्रदर्शन भएकै दिन ‘भिडियो पसल’ मा पनि फिल्म रिलिज गर्ने योजना ओएसआरको छ । तर, हाललाई रिलिज भइसकेको फिल्मलाई विश्वभरीका दर्शकसामु एकै पटक पुर्‍याउने लक्ष्यसहित यो एप्सको सुरुवात गरिएको हो । यसमा न्युनतम शुल्क तिरेर नयाँ नेपाली फिल्महरु हेर्न सकिनेछ । केही फिल्म भने निःशुल्क हेर्ने व्यवस्था पनि गरिएको छ ।

मोबाइल एप्सबाट विश्वको कुनै पनि कुनाबाट यो एप्स प्रयोग गरि नेपाली फिल्म हेर्न सकिने जनाइएको छ । निर्माताहरुको लागि यो नयाँ बजार हुनसक्ने ओएसआरका प्रतिनिधी रुपेन्द्र खड्गी बताउँछन् । यसबाट प्राप्त हुने शेयर निर्माण कम्पनी र निर्माताबीच आपसी सहमतिमा बाँडफाँड हुने उनको भनाई छ । उनका अनुसार, ‘भिडियो पसल’ बाट फिल्म कपि हुने र डाउनलोड हुने सम्भाव्यता पनि शुन्य छ ।

कमेन्ट गर्नुहोस्