फिल्म । फिल्म निर्माण हुने भने देखि नै चर्चामा छ ,’दासढुङ्गा’ को सिक्वेल । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनालाई आधार बनाएर निर्माण हुने फिल्म भएकोले पनि यो पहिलो भाग देखि नै चर्चामा छ । पहिलो संस्करण सन् २०१० मा मनोज पण्डितले निर्देशन गरेका थिए । यसैको सिक्वेल बन्ने भएपछी चर्चा पाउनु स्वाभाविक नै हो । निर्माण घोषणा भएको ३ महिना बितिसक्दा पनि फिल्म ‘दासढुङ्गा-२’ फ्लोरमा जान सकेको छैन ।
चलचित्र विकास बोर्डले निर्माण इजाजत दिन आनकानी गरेपछि यस फिल्मको निर्माण प्रक्रियामा अवरोध पुगेको हो । फिल्मलाई विकास बोर्डले अनुमति दिन आनाकानी गरिरहेको निर्देशक कुमार भट्टराईको गुनासो छ । बोर्डले मदन भण्डारी स्मृति प्रतिष्ठानले अनुमति दिएपछि मात्रै इजाजत दिन मिल्ने कुरा गरेको निर्देशक भट्टराई बताउछन् । कथाको सारांश प्रतिष्ठानमा पथाएता पनि अझै निर्क्यौल नभएको गुनासो निर्माण टिमको छ ।
यता चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईसँग अनुमति नदिनुको कारणबारे सोध्दा उनले फिल्मको स्क्रिप्ट राय–सुझावका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानसमक्ष पठाएको बताए । मदन भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप ‘दुर्घटना’मा परि मृत्यु भएको थियो । त्यसयता सरकारी र नागरिक स्तरमा विभिन्न छानबिन समिति बने पनि दुर्घटनाको सत्यतथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन । जिपचालक अमर लामाको २०६० असार ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भएपछि यो घटना झन् रहस्यमय अवस्थामा छ ।