घुस लिएको भन्दै सिंह दरबार भित्रै हात हालाहाल

देश । नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात गरेका छन्। आचार्य मन्त्रालयका उपसचिव हुन् । नेपाली कांग्रेस युनियनले बुधबार दिउँसो नेता सुरेन्द्र भण्डारीसहित गएका ८/१० जनाले सरूवामा घुस खाएको भन्दै वादविवाद गरेका थिए । विवाद बढ्दै जाँदा उनीहरूबीच हात हालाहाल भएको थियो । उक्त समयमा मन्त्रि यादव पनि कार्यकक्षमै थिए ।

भण्डारीलगायत नेता/कार्यकर्ताले मन्त्रालयका उपसचिव शोभाकर रेग्मीलाई उद्योग विभागमा सरूवा नगरी पैसा खाएर अर्का उपसचिव विनोद खड्कालाई सरूवा गरेको आरोप लगाएका थिए । होहल्ला बढेपछि मन्त्री यादव बाहिर आएर घुस खाएको भए प्रमाण ल्याएर आउन भनेका थिए। उनले नत्र कर्मचारीको सरूवा मन्त्रालयको प्रशासनिक अधिकार भएको बताएका थिए। संघका नेता/कार्यकर्ता मन्त्रीसँग पनि मुखमुखै लागेपछि प्रहरी बोलाएको थियो। केहीबेरमा प्रहरी घटनास्थलमा आउँदा विवाद गर्ने कर्मचारी गइसकेका थिए।

Facebook Comments