‘समर लभ’ हेर्दा थाइल्याण्ड घुम्न पाइने

फिल्म । पछिल्लो समय फिल्मकर्मीहरु दर्शकको ध्यान खिच्नको निमित विभिन्न योजनालाई समेत अगाडी सरिरहेका हुन्छन् । आजको डिजिटल युगमा आफ्नो फिल्म प्रति चासो बढाउँन अनेकन उपायलाई आत्मसात गर्ने गरिन्छ । यसै बीच फिल्म ‘समर लभ ‘ युनिटले थाइल्याण्ड घुम्ने अवसर ल्याएको छ । ‘समर लभ’ हेर्न हलभित्र प्रवेश गर्नका लागि काटिने टिकटको नम्बरमार्फत् लक्की विजेता घोषणा गरेर एक जोडीलाई थाइल्याण्ड टुरमा पठाउने निर्देशक मुस्कान ढकालले बताए ।

‘विजेता घोषित हुनेले फिल्मको गीत, पोस्टर र ट्रेलर फेसबुकमा अनिवार्य शेयर गरेको हुनुपर्ने छ भने फिल्म हेरेको टिकट साथमा हुनुपर्नेछ’ निर्देशक ढकाल भन्छन ‘ हामीले एक जोडीलाई थाईल्याण्ड घुमाउदैछौ ।’ साथै, निर्माण टिमले ‘मायाको सेल्फी उत्सव’ प्रचार योजना पनि अगाडि सारेको छ । आफ्नो प्रेमी वा प्रेमिकासँग खिचेको सेल्फी फिल्मको फेसबुक पेजमा पठाए विभिन्न उपहारहरु प्रदान गरिने पनि निर्माण टिमले बताएका छन् । युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ माथि आधारित फिल्ममा आशिष पिया ‘अतित’ र रेवती क्षेत्री ‘साया’ को भूमिकामा छन् ।

अभिनेत्री नम्रता सापकोटाले सुस्मिताको भूमिका निभाएकी छन् । शिशिर भण्डारी, सुरजसिंह ठकुरी, मानसविक्रम थापालगायतका कलाकारको पनि यसमा अभिनय रहेकोछ । फिल्म भ्यालेनटाइन डेको छेको अर्थात् माघ २५ बाट प्रदर्शनमा आउँदैछ । सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । फिल्मको संवाद सुविन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् ।

कमेन्ट गर्नुहोस्