फिल्म । कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको सामाजिक हास्य फिल्म ‘पच्चीस पच्चीस’को शुभमुहूर्त सम्पन्न भएको छ । बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तसँगै बुधबारदेखि नै फिल्मको छायांकन पनि सुरु भएको छ। निर्देशक सुब्रत आचार्यका अनुसार फिल्मको छायांकन ४० दिनको तालिकामा सम्पन्न गरिनेछ।
फिल्ममा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ। दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन्।
सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको यो तेस्रो फिल्म हो। उनले यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन्। फिल्मको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। फिल्मको छायांकन निर्देशन हरि हुमागाईंले सम्हालेका छन्।
कर्ण कार्कीको निर्माणमा बन्न लागेको यो दोस्रो फिल्म हो। उनले यसअघि ‘होस्टल ३’ निर्माण गरेका थिए। फिल्मका कार्यकारी निर्माता दीपेन्द्र गौतम हुन्। धिरेन्द्र लाल कर्ण र मणिराज खड्का सहनिर्माता तथा सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल लाइन प्रोड्युसरका रूपमा रहेका छन्।









