‘बाटुलो जून’ लाई देशभर माया

फिल्म । एक साता लामो पश्चिम नेपालका विभिन्न जिल्लाको यात्रा सकेर फिल्म ‘बाटुलो जून’को टिम काठमाडौं फर्किएको छ । फिल्मका निर्देशक भुवन केसी, अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडासहितको टोली पश्चिम नेपालका विभिन्न सहर पुगेर दर्शक भेटघाटमा व्यस्त बनेको थियो।

दाङबाट सुरु भएको दर्शक भेटघाट कार्यक्रम नेपालगञ्ज, धनगढी, चितवन हुँदै पोखरासम्म पुगेको थियो। यसअघि फिल्म ‘जेरीः अन टप’को प्रचारका लागि अनमोल दाङ र नेपालगञ्ज पुगेका थिए। तर, यसपटक भने उनी पश्चिम नेपालका अधिकांश हलमा पुगे।

पश्चिम नेपालमा अनमोलको क्रेज लोभलाग्दो देखियो। उनलाई भेट्न दर्शक बिहानैदेखि हलमा पुगेका थिए। अनमोल आउने आशामा दिनभर हलमै कुरेर बसेका दर्शकसमेत भेटिएका थिए। उनीसँग तस्बिर खिचाउन दर्शकको ठूलो भीड लागेको थियो। पश्चिम नेपालका अधिकांश हलमा फिल्मले राम्रो व्यापार गरिरहेको छ। दर्शकबाट अथाह माया पाउँदा अनमोल निकै खुसी देखिएका थिए।

फिल्मका निर्देशक तथा अभिनेता भुवन केसीलाई भेट्न पाउँदा पनि दर्शक उत्साहित देखिए। पश्चिम नेपालका दर्शकले दिएको मायाले आफू भावुक भएको भुवनले बताए।

पहिलो फिल्मबाटै अभिनेत्री प्रिन्सी खतिवडाले दर्शकको राम्रो साथ पाएकी छन्। पश्चिम नेपालका दर्शकबाट पाएको मायाले उनी उत्साहित देखिइन्। दर्शकले प्रिन्सीलाई ‘माउसुली’ र ‘छत्कुल्ली’ जस्ता नामले बोलाएका थिए।

फिल्मले प्रदर्शनको ११ दिनमा बक्स अफिसमा ८ करोड ३५ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरिसकेको छ। फिल्मको आक्रामक व्यापारमा पश्चिम नेपालको योगदान पनि उल्लेख्य देखिएको छ।

जिया केसी र भविष्य खड्काको निर्माणमा बनेको फिल्ममा विवेक थापा सहनिर्माताका रूपमा छन्। फिल्मको कथा सामिप्यराज तिमिल्सिना र सरिन पोखरेलले संयुक्त रूपमा लेखेका हुन्। फिल्ममा राजेश श्रेष्ठको छायांकन तथा युग भुसाल र एस.डी. योगीको संगीत रहेको छ।

कमेन्ट गर्नुहोस्