शोभितको फिल्म ‘हजुरबाले भनेथे’मा नीर शाह

फिल्म । लक्ष्मीपूजाको अवसर पारेर फिल्म ‘हजुरबाले भनेथे’ घोषणा गरिएको छ । नीर शाहको मुख्य भूमिका रहने फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन् । सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मका लागि शोभित बस्नेतले शाहसँग भेट गरी उनलाई मुख्य भूमिकामा अनुबन्ध गरेका हुन् ।

ए टु जेड क्लिनिङ सप्लायर्स सिड्नीका तर्फबाट कृष्ण थापा, बन्धु राज वाग्ले, रोमिन पिया र समीर शाहीको प्रस्तुति रहने फिल्मका निर्माता निरोज श्रेष्ठ हुन् । फिल्ममा नवीन घायल कार्यकारी निर्माता र हिमाल भण्डारी सहनिर्माताका रूपमा रहनेछन् ।

फिल्ममा नीर शाह हजुरबुबाको भूमिकामा देखिनेछन् । उनका नातिको भूमिकामा कसलाई अभिनय गराउने भन्ने टुङ्गो लागिसकेको छैन । फिल्ममा दुई नायक र दुई नायिका रहने निर्माण पक्षले जनाएको छ । अन्य कलाकार तथा प्राविधिक टोलीको जानकारी चाँडै सार्वजनिक गर्ने निर्माण पक्षको तयारी छ । आगामी माघमा छायाङ्कनमा जाने फिल्मको ६० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र ४० प्रतिशत जुम्लामा गरिनेछ ।

‘परान’पछि नीर शाह यस फिल्ममार्फत शीर्ष भूमिकामा देखिन लागेका हुन् । कमेडी तथा पारिवारिक कथामा निर्माण हुने फिल्मले दर्शकलाई धेरै हँसाउने र थोरै रुवाउने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्