बक्सअफिसका सदाबहार नायक भुवन

फिल्म । चार दशकभन्दा लामो नेपाली फिल्म क्षेत्रको यात्रामा नायक, निर्माता तथा निर्देशक भुवन केसीले आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् । अभिनयदेखि निर्देशन र निर्माणसम्म सक्रिय भुवनले दर्शकलाई फरक स्वादका फिल्म दिँदै आएका छन् । उनले अभिनय तथा निर्देशन गरेका फिल्मले नेपाली फिल्म बजारमा कुनै न कुनै रूपमा अमिट छाप छाडेका छन् ।

‘जुनी’ फिल्मबाट नायकका रूपमा रजतपटमा प्रवेश गरेका भुवनले त्यसयता आफ्नो सफल यात्रालाई निरन्तरता दिइरहेका छन् । नेपालमा हालसम्म चारवटा फिल्मले सिल्भर जुब्ली मनाएको इतिहास छ । तीमध्ये तीनवटा फिल्ममा भुवनको अभिनय छ । यसबाटै बक्स अफिसमा उनको सफलता कति बलियो थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

भुवनले अभिनय गरेका ‘चिनो’, ‘सम्झना’ र ‘कुसुमे रुमाल’ले सिल्भर जुब्ली मनाएका थिए । उनले अभिनय गरेका थुप्रै फिल्मले ५१ दिन र सय दिनको प्रदर्शन यात्रा पनि पूरा गरेका छन् ।

भुवनले अभिनय गरेका फिल्म संख्यात्मक उपलब्धिमा मात्र सीमित छैनन् । उनका फिल्ममा केही न केही विशेषता पनि पाइन्छ । ‘करोडपति’, ‘तृष्णा’, ‘बादलपारि’ लगायतका फिल्म आज पनि दर्शकको स्मृतिमा ताजा छन् । नायकका रूपमा छुट्टै छाप छाडेका भुवनले फिल्म निर्माणमा समेत नयाँ ट्रेन्ड स्थापित गरेका छन् ।

‘सपना’, ‘करोडपति’, ‘नेपाली बाबु’, ‘म तिमीविना मरिहाल्छु’, ‘साथी म तिम्रो’, ‘ड्रिम्स’ र ‘क्याप्टेन’ लगायतका फिल्ममा उनले रोजेका कथा र प्रस्तुतिको स्तरले फिल्मप्रतिको उनको लगाव प्रस्ट पार्छ ।

नेपाली फिल्ममा गाउँले कथाको बाहुल्य रहेको र नायकको अनुहारकै भरमा फिल्म बिक्री गर्ने प्रवृत्ति हाबी भएको समयमा भुवनले ‘करोडपति’ निर्माण गरेका थिए । सुरुवाती चरणमा यो फिल्मले वितरकको समेत ध्यान खिच्न सकेको थिएन । आधुनिक र सहरी परिवेशको कथामा फिल्म बनाउँदा धेरैले भुवनले आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै आलोचना गरेका थिए ।

तर, ‘करोडपति’ले नेपाली फिल्ममा नयाँ ट्रेन्ड स्थापित गर्‍यो । फिल्मले बक्स अफिसमा सय दिनको प्रदर्शन पूरा गर्नुका साथै भुवनलाई आर्थिक रूपमा पनि करोडपति बनायो। फिल्म निर्माणमा सफलता हासिल गरेपछि भुवनले ‘ड्रिम्स’मार्फत निर्देशनमा समेत हात हाले। यो फिल्मको मेकिङको चर्चा आज पनि हुने गरेको छ। उनै भुवनले निर्देशन गरेको नयाँ फिल्म ‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मको चर्चा अहिले चुलिएको छ।

‘बाटुलो जून’मा पनि गाउँकै कथालाई पृथक र नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। यही कारण फिल्मप्रति दर्शकको चासो बढिरहेको छ। ‘ड्रिम्स’पछि नयाँ फिल्म निर्देशन गर्न भुवनले केही वर्ष लगाए। आखिर, उनले लामो समयपछि ‘बाटुलो जून’ निर्देशन गर्ने निर्णय किन गरे त? यसबारे भुवन केसीको आफ्नै भनाइ छ।

नेपाली फिल्म क्षेत्रले अहिले पनि नयाँ ट्रेन्ड र प्रस्तुतिको खोजी गरिरहेको छ। ‘बाटुलो जून’को विषयवस्तुले पनि यही खोजलाई प्रतिबिम्बित गर्ने संकेत गरेको छ। आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने फिल्ममार्फत भुवनले आफ्नो चार दशक लामो फिल्म यात्राको विरासतलाई निरन्तरता दिन्छन् वा नयाँ उचाइमा पुर्‍याउँछन् भन्ने प्रतीक्षा छ।

कमेन्ट गर्नुहोस्