यसकारण रामबाबुले बनाए ‘कबड्डी ५’

फिल्म ।‘द फाइनल म्याच’ भन्दै टुंग्याइएको काजीको कथा फेरि अघि बढाउँदै निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ निर्माण गरेका छन् । यसपटक प्रेमसँगै काजीको व्यावहारिक जीवन, पात्रहरूको बदलिँदो मनोदशा र समयसँगै फेरिएको मुस्ताङको कथा पनि फिल्ममा समेटिएको छ ।

‘कबड्डी’को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ नाम दिइएपछि धेरैले काजीको कथा त्यहीँ टुंगिएको ठानेका थिए । तर, पात्रहरूको कथा त्यतिमै सीमित रहेन । २०७१ सालमा सुरु भएको काजीको प्रेमकथा चार शृंखलासम्म आइपुग्दा एउटा अध्यायमा पुगेर रोकिए पनि प्रेमपछि उसको जीवन कता जान्छ भन्ने कथा बाँकी नै थियो ।

त्यही बाँकी कथालाई अघि बढाउँदै ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ निर्माण गरिएको निर्देशक रामबाबु गुरुङ बताउँछन् । उनका अनुसार चौथो शृंखलामा काजीको नयाँ प्रेम जीवनको एउटा अध्याय टुंग्याउने उद्देश्यले ‘द फाइनल म्याच’को अवधारणाअनुसार कथा तयार गरिएको थियो । तर, फिल्म प्रदर्शनपछि दर्शकबाट प्राप्त प्रतिक्रियाले पात्रहरूको कथा थप अघि बढाउन प्रेरित गर्‍यो ।

‘चौथो शृंखलामा हामीले काजीको नयाँ प्रेम जीवनको छोटो समयको रोमाञ्चकतालाई टुंग्याउने भनेर ‘द फाइनल म्याच’ भन्ने तयारीका साथ कथा निर्माण गरेका थियौँ,’ गुरुङ भन्छन्, ‘चौथो शृंखला प्रदर्शनपछि दर्शकले त्यसलाई निकै रुचाइदिनुभयो । यसले निर्मातालाई व्यावसायिक रूपमा मात्र नभएर अन्य कुरामा पनि प्रोत्साहन गर्ने रहेछ ।’

पहिलोदेखि चौथो भागसम्म पात्रहरूको कथा खोतल्दै जाँदा कथा आफैँ विस्तार हुँदै गएको उनको अनुभव छ । काजीको प्रेम जीवनको एउटा अध्याय पूरा भए पनि त्यसपछिको व्यावहारिक जीवन कस्तो हुन्छ भन्ने प्रश्न बाँकी थियो । ‘त्यहाँसम्म पुग्दा काजीको प्रेम जीवनको एउटा अध्याय त पूरा भयो नि, तर कथा त त्यहाँबाट उता पनि हुन्छ नि,’ उनी भन्छन् ।

यही क्रममा काजीको व्यावहारिक जीवनलाई कथाको केन्द्रमा राख्ने विषयमा छलफल सुरु भएको थियो । अभिनेता दयाहाङ राईले पनि फिल्म गर्ने इच्छा देखाएपछि पाँचौँ भागको लेखन अघि बढाएको गुरुङ बताउँछन् ।

‘दर्शककै हौसलाले काजीको व्यावहारिक पाटो कोट्याउने सोच बन्यो । त्यही क्रममा पाँचौँ शृंखलाबारे छलफल भयो । दयासँग सल्लाह गरेँ । दयाले गर्ने भए गरौँ न त भनेपछि मैले लेखन कार्य सुरु गरिहालेँ,’ उनले भने ।

पाँचौँ भाग निर्माण गर्न आफूलाई कुनै बाध्यात्मक दबाब नरहेको गुरुङ स्पष्ट पार्छन् । दर्शकको सकारात्मक प्रतिक्रियाले भने थप हौसला दिएको उनको भनाइ छ । समयसँगै पात्रहरूमा आएको परिपक्वता, उनीहरूको अनुभव र अघिल्लो कथालाई अझ अगाडि लैजाने इच्छाले पाँचौँ भागको आधार तयार भएको उनी बताउँछन् ।

‘कबड्डी’को पाँचौँ शृंखलासम्म आइपुग्दा पात्रहरूको आफ्नै संसार निर्माण भइसकेको गुरुङको अनुभव छ । पहिलो भागदेखि नै दर्शकले पात्रहरूलाई पछ्याउँदै आएका छन् भने पात्रहरू पनि दर्शकसँगै हुर्किरहेका छन् ।

‘एकदेखि पाँचसम्म आउँदा पात्रहरूको एउटा छुट्टै संसार बनिसक्यो । एउटै पात्रले दर्शक कमाएको छ र दर्शकसँगै पात्रहरू पनि हुर्किरहेका छन्,’ उनी भन्छन्, ‘यिनीहरूको कथा के होला ? मनोविज्ञान कस्तो होला ? कतिपय कुरा हामीले नै भोगेका र अनुभव गरेका कुरा हुन् । ती हाम्रै समाजवरिपरिको कथासँग जोडिँदै जाने हो ।’

त्यसैले यसपटक विगतका शृंखलामा जस्तै जोक, पञ्चलाइन र घटनामा मात्रै केन्द्रित नभई पात्रहरूको उमेर, अनुभव र मनोदशालाई पनि प्राथमिकता दिइएको उनको भनाइ छ ।

‘कबड्डी’ शृंखला दर्शकले मन पराउनुमा आक्रामक स्वभाव, जोक र पञ्चलाइनको पनि भूमिका रहेको उनी ठान्छन् । तर, पाँचौँ भागमा भने ती पक्षमा मात्रै ध्यान नदिइएको उनी बताउँछन् ।

‘अहिले त्यसमा मात्र केन्द्रित छैनौँ । पात्रहरूको मनोदशा, उनीहरूको उमेर र अनुभवअनुसार ती कुरामा कस्तो प्रतिक्रिया दिँदै छन् भन्ने विषयमा बढी ध्यान दिएर काम गरेका छौँ,’ उनले भने ।

गुरुङका अनुसार अहिले पात्रहरू पहिलेको अवस्थामा छैनन् । समय, उमेर र अनुभवले उनीहरूको जीवनमा प्रभाव पारिसकेको छ । त्यसैले उही पात्र भए पनि उसको प्रतिक्रिया र व्यवहार बदलिनु स्वाभाविक भएको उनको बुझाइ छ ।

‘कबड्डी’ शृंखलाको कथासँगै त्यसको परिवेश पनि समयसँगै बदलिएको गुरुङ बताउँछन् । पहिलो भागमा देखिएका मुस्ताङका घर, गल्ली र बाटाहरू अहिले धेरै परिवर्तन भइसकेका छन् ।

‘हामीले सुरुमा छायांकन गरेका स्थानका पुराना घरहरू बजारीकरणसँगै परिवर्तन भइसकेका छन् । पक्की घर बनेका छन् । अहिले मुस्ताङमा पिलपिलेबाहेक घासादेखि माथितिरका सबै सडक पक्की बनिसकेका छन्,’ उनले भने ।

पहिले छायांकन गरिएका घर र गल्ली अहिले उस्तै अवस्थामा नरहेको उनको भनाइ छ । ढुंगाले छाएका घर र माटोका संरचनाको ठाउँमा पक्की घर तथा ढलान गरिएका सडक बनेका छन् । छानामा दाउरा सुकाउने पुरानो चलनदेखि टिनका छाना र ग्यासको प्रयोगसम्म आइपुग्दा मुस्ताङका गाउँको स्वरूपसँगै त्यहाँको जीवनशैली पनि फेरिएको उनले बताए ।

समयसँगै गाउँको संरचना र जीवनशैलीमा आएको यही परिवर्तनले फिल्मको दृश्यात्मक पक्षमा समेत प्रभाव पारेको उनको भनाइ छ । पाँचौँ भागको पटकथा लेख्दा तुलनात्मक रूपमा सहज भए पनि चुनौती भने रहेको गुरुङ बताउँछन् । पहिलोदेखि पाँचौँ भागसम्म एउटै पात्र र कथाको यात्रामा काम गरेकाले पात्रहरूको स्वभाव र कथा अघि बढ्ने दिशा स्पष्ट रहेको उनको अनुभव छ ।

‘जुनसुकै पटकथामा काम गर्न पनि उत्तिकै चुनौती हुन्छ । तर, एकदेखि अहिलेसम्म एउटै पटकथामा काम गरिरहेजस्तो अनुभव हुन्छ । किनभने पात्रहरू पहिले नै विकसित भइसकेका हुन्छन् । उनीहरूको कथा अघि बढ्ने बाटो स्पष्ट हुन्छ,’ उनले भने, ‘चौथो भागपछि पाँचौँमा आउँदा दर्शकको अपेक्षा बढ्ने भएकाले त्यसलाई सम्बोधन गर्ने दबाब पनि महसुस हुन्छ ।’

काजीको कथा प्रेमबाट अघि बढेर व्यावहारिक जीवनतर्फ पुगे पनि फिल्मले विगतका पात्र र उनीहरूबीचको सम्बन्धलाई छोडेको छैन । पहिलो र दोस्रो भागमा काजी र मैयाँबीचको सम्बन्धले दर्शकमा जगाएको पुरानो सम्झना यसपटक पनि अनुभूत गर्न पाइने गुरुङ बताउँछन् ।

पाँचौँ भागसम्म आइपुग्दा ‘कबड्डी’का पात्रहरू उनलाई पर्दाका काल्पनिक चरित्रभन्दा आफूले देखेभोगेकै समाज र जीवनका पात्रजस्ता लाग्न थालेका छन् । उनीहरूको कथा र मनोविज्ञान पनि आफ्नै समाज र अनुभवबाट विस्तार हुँदै गएको गुरुङको भनाइ छ ।

यसपटक ‘कबड्डी ५’मा बिके पात्रलाई कृत्रिम बौद्धिकता (एआई)सँग जोडिएको छ । फिल्मको टिजरमा पनि यसको झलक देखाइएको छ । तर, कथा लेख्दा एआईको विकासलाई केन्द्रमा राखेर यस्तो योजना नबनाइएको गुरुङ बताउँछन् ।

उनका अनुसार बिके सुरुदेखि नै केही छट्टु, बाठो र जानीनजानी प्रविधिमैत्री बन्ने खालको पात्र हो । त्यही चरित्रलाई विकास गर्दै जाँदा एआईसँगको सम्बन्ध कथामा स्वाभाविक रूपमा आएको उनको भनाइ छ ।

‘सुरुमा कथा लेख्दा एआईको विकास हुन्छ भन्ने कल्पना थिएन । बिके पात्र पहिलेदेखि अलि छट्टु, बाठो र जानीनजानी प्रविधिमैत्री बन्ने किसिमको छ । त्यही पात्रलाई विकास गर्ने क्रममा नै त्यस्तो आएको हो,’ उनले भने ।

बिके, छन्त्याल र काजीको विवाहसँग जोडिएका व्यक्तिगत प्रसंगले पनि कथामा नयाँ तह थपेको गुरुङ बताउँछन् ।

यसपटक बमकाजीको भूमिकामा विपीन कार्की देखिँदै छन् । तर, उनी फिल्मका कुन पात्रको जीवनसँग जोडिएर आएका हुन् भन्ने विषयमा गुरुङले खुलाउन चाहेनन् ।

‘कबड्डी’ शृंखलामा अहिलेसम्म देखिँदै आएको कबड्डीको खेल अब सबै पात्रलाई समेट्ने ‘महायुद्ध’तर्फ जान सक्ने सम्भावनासमेत उनले संकेत गरेका छन् । काजीको जीवनमा जोडिएका चार सोल्टिनीको प्रसंग पनि उनले उल्लेख गरे । तर, कथाका थप विवरण भने खुलाउन चाहेनन् । ‘थाक खोला’ बोलको गीतमा तीन जना सोल्टिनी देखिएका छन् ।

पाँचौँ भागमा दर्शकले पहिलो र दोस्रो भागमा काजी र मैयाँबीच रहेको सम्बन्धको पुरानो सम्झना पनि अनुभूत गर्न पाउने गुरुङ बताउँछन् । उनका अनुसार काजीले प्रेम जीवनसँगै व्यावहारिक जीवन र समाजसँगको सम्बन्धमा धेरै कुरा त्याग गरेको छ ।

विगतका शृंखलामा जस्तै यसपटक पनि पात्रहरूको बोल्ने शैलीमा ठूलो परिवर्तन नगरिएको उनले बताए । तर, पात्रहरूको अवस्था फेरिएकाले संवाद र परिस्थितिमा फरकपन आउने उनको भनाइ छ । कथा र पात्रअनुसार मनोरञ्जनका पर्याप्त पक्ष फिल्ममा रहेको उनले बताए ।

विगतका शृंखलाले नेपाली फिल्म क्षेत्रमा सर्वाधिक कमाइको रेकर्ड बनाएका भए पनि ‘कबड्डी ५’ले नयाँ रेकर्ड कायम गर्नैपर्छ भन्ने अपेक्षा नरहेको गुरुङ बताउँछन् । यद्यपि, प्रदर्शन नजिकिँदै जाँदा एक किसिमको डर हुने उनको अनुभव छ ।

दशैंमा अन्य सिक्वेल फिल्म पनि प्रदर्शनमा आउने भएकाले प्रतिस्पर्धाको प्रभाव पर्न सक्ने उनी स्वीकार्छन् । तर, ‘कबड्डी’को आफ्नै दर्शकले साथ दिने विश्वास भने उनलाई छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ । सागर राज फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् ।

सहायक भूमिकामा पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।

फिल्मको नेपाल वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले सम्हालेको छ । कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्मका मुख्य सहायक निर्देशक सोमनाथ खनाल र तारानाथ न्यौपाने हुन् ।

कमेन्ट गर्नुहोस्