‘आ बाट आमा २’ को ट्रेलर ट्रेन्डिङमा

फिल्म । नेपाली फिल्म ‘आ बाट आमा २’को ट्रेलर सार्वजनिक भएको २४ घण्टामै यसलाई ३० लाख भन्दा बढी पटक हेरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर छोटो समयमै ट्रेन्डिङमा उक्लिएको हो । यो अहिले मुभी सेक्सनमा २ नम्बरमा छ ।

ट्रेलरप्रति दर्शकले सकारात्मक प्रतिक्रिया जनाएका छन्। विशेषगरी पल शाह, मलिका महत र विपना थापाको अभिनय तथा आमाछोराबीचको भावनात्मक सम्बन्धलाई दर्शकले मन पराएको प्रतिक्रिया दिएका छन्।

चार मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा कुकुरको बच्चालाई गाडीले किच्न खोज्दा कृष्णको भूमिकामा रहेका पल शाहले बचाएको दृश्यले दर्शकको ध्यान खिचेको छ। आफ्नो बच्चा बचाउन भुकेको कुकुरको आवाज कसैले नसुनेपछि कृष्णले बच्चालाई बचाएको दृश्यलाई दर्शकले भावुक रूपमा लिएका छन्।

त्यस्तै, साइग्रेस पोखरेल र आमाको भूमिकामा रहेकी विपना थापाको अभिनयको पनि प्रशंसा भएको छ। आधाको भूमिकामा देखिएकी मलिका महतको अभिनयसमेत प्रभावशाली देखिन्छ। फिल्ममा आकाश श्रेष्ठ खलनायकको भूमिकामा हुन सक्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ भने गजित विष्ट ग्यारेज सञ्चालकको भूमिकामा देखिएका छन्।

आर्थिक अभावका कारण भगवान्सँग एक लाख रुपैयाँ माग्दै हात जोडेको दृश्यले पात्रको निराशा र संघर्षलाई चित्रण गर्छ। समग्रमा ट्रेलरले आमाबुबाले सन्तानका लागि गर्ने त्याग र सन्तानको आमाबुबाप्रतिको मायालाई प्रस्तुत गरेको छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्मको ट्रेलरलाई लिएर कलाकार तथा निर्माण टोली पनि उत्साहित देखिएको छ। फिल्मकर्मीले निर्देशक पन्तको कामको प्रशंसा गरिरहेका छन्।

फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय रहेको छ। लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्।

करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ भने आरआर फिल्म्सले नेपालभर वितरण गर्ने जिम्मेवारी लिएको छ।

यसअघि प्रदर्शनमा आएको ‘आ बाट आमा’ले घरेलु बक्सअफिसमा १३ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो। त्यसैको सिक्वल ‘आ बाट आमा २’ शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा छ।

कमेन्ट गर्नुहोस्