फिल्म । नेपाली फिल्म ‘बाः एक योद्धा’ले बक्सअफिसमा आफ्नो रफ्तार कायमै राखेको छ। दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्मले बक्सअफिसमा तीन करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार आइतबारसम्म फिल्मले ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। तथ्यांकअनुसार फिल्म हालसम्म १ लाख ७ हजार ५३३ दर्शकले हेरेका छन्। तेस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले अहिले पनि उच्च अकुपेन्सी कायम राखेको जनाइएको छ।
प्रदर्शनको सुरुवाती १० दिनमा फिल्मले करिब १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यद्यपि, निर्माण पक्षले आइतबारसम्म फिल्मको व्यापार ३ करोड ९ लाख रुपैयाँभन्दा बढी भएको जनाएको छ।
फिल्मको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र दुःखसम्मका विषयलाई फिल्मले कथाको केन्द्रमा राखेको छ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शबी थापालगायत कलाकारको अभिनय रहेको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ।
फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सहनिर्माताका रूपमा छन्।









