देश । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनुपर्ने बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। कांग्रेसले आफूलाई बदल्दै जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ। यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,’ थापाले भने। देशको पछिल्लो अवस्थालाई हेर्दा महाधिवेशनलाई उत्सवका रूपमा मात्रै मनाउने अवस्था नरहेको उनले बताए। रसुवामा आएको बाढीपहिरोका कारण नागरिकले ज्यान गुमाएको र धेरै परिवार पीडामा रहेको स्मरण गर्दै थापाले यस्तो अवस्थामा महाधिवेशन गर्न आफूलाई मन नलागेको बताए।
‘रसुवाको बाढीले हजारौँ नागरिक हामीमाझ हुनुहुन्न। यो महाधिवेशन गर्न मन थिएन। तर संविधान र कानुनको परिधिका कारण बाध्य भयौँ,’ उनले भने। थापाले कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए। लामो समयदेखि एउटै नेतृत्व, एउटै पद र सत्ताको वरिपरि घुमिरहेको राजनीतिले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने धारणा विकास भएको उनको भनाइ थियो।
उनले नेपालको राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाइएको टिप्पणी गरे। प्रधानमन्त्री बन्ने, फेरि प्रधानमन्त्री बन्ने तथा मन्त्री बन्ने र दोहोरिने प्रवृत्तिले राजनीतिक नेतृत्वप्रति जनताको विश्वास कमजोर बनाएको उनले बताए । ‘म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो, जसले भदौ २३ र २४ आयो,’ उनले भने।
थापाले सामाजिक सञ्जालदेखि समाजका विभिन्न तहसम्म अत्यधिक राजनीतीकरण भएको बताए। फेसबुक, ट्वीटरलगायतका माध्यमदेखि दैनिक जीवनका विषयसम्म राजनीतिक आँखाबाट हेर्ने अवस्था बनेको भन्दै उनले त्यसले समाजमा असन्तुष्टि र ध्रुवीकरण बढाएको बताए।
उनले भदौ २३ र २४ गतेका घटनालाई त्यसैको परिणामका रूपमा व्याख्या गरे। त्यसपछि कांग्रेसले आफूलाई सम्हाल्न र सच्याउन विशेष महाधिवेशन गरेको तथा त्यसपछि भएको निर्वाचनमा जनताको फैसला स्वीकार गर्नुपरेको उनले बताए।
कांग्रेसले विगतमा धेरै निर्वाचन जितेको र धेरै निर्वाचन हारेको उल्लेख गर्दै थापाले हारलाई निराशाको कारण बनाउन नहुने बताए। अहिलेको महाधिवेशनलाई पार्टीले नयाँ बाटो तय गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
थापाले विगतका राजनीतिक उपलब्धिको चर्चा गरेर मात्रै अबका चुनौती सामना गर्न नसकिने बताए। मुलुकमा राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको विषयमा कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
लामो समय मुलुकमा राजनीतिक संघर्ष र द्वन्द्व चले पनि जनताको जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको उनले बताए। ‘३५ वर्षदेखि युद्ध किन व्यहोर्यौँ? शान्ति प्रक्रियामा पनि यही भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तियो। किन रोजगारी भएन? युवा किन पलायन भयो?’ उनले प्रश्न गरे।
अब यस्ता प्रश्नको जवाफ खोजेर मात्रै कांग्रेस अघि बढ्नुपर्ने उनले बताए। युवालाई देशमै रोजगारी र अवसर सिर्जना गर्ने, गाउँलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्ने तथा अर्थतन्त्रलाई गतिशील बनाउने विषयमा पार्टीले स्पष्ट नीति बनाउनुपर्ने उनको भनाइ थियो।
थापाले लोकतन्त्र र जनताको दैनिक जीवनबीच सम्बन्ध स्थापित गर्ने जिम्मेवारी कांग्रेसको रहेको बताए। राजनीतिक अधिकार सुनिश्चित गरेपछि त्यसलाई नागरिकको जीवनमा अनुभूत हुने सेवा, अवसर र आर्थिक विकाससँग जोड्न नसके लोकतन्त्रप्रतिको विश्वास कमजोर हुने उनले बताए।
‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ उनले भने, ‘पुल ढल्यो भने विश्वास ढल्छ।’ कांग्रेसले पुरानो पुस्ता र नयाँ पुस्ताबीच पनि पुलको काम गर्नुपर्ने थापाको भनाइ थियो। नयाँ पुस्ताको आकांक्षा र पुरानो पुस्ताको राजनीतिक अनुभवलाई जोडेर पार्टीलाई अघि बढाउनुपर्ने उनले बताए।
थापाले कांग्रेसले सिद्धान्तमा सम्झौता गरेर तत्कालको राजनीतिक लाभ खोज्न नहुने बताए। निर्वाचनमा हार–जितलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउन नहुने भन्दै उनले मूल्य र मान्यतामा आधारित राजनीति गर्नुपर्ने बताए। ‘हामी लालुपाते होइनौँ, हामी प्रस्ट हुन्छौँ। सिद्धान्तमा अडिनुपर्दा पाँचवटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ,’ उनले भने।
उनले उद्योगी तथा व्यवसायीलाई सम्मान गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए। निजी क्षेत्रलाई केवल कर उठाउने स्रोतका रूपमा नभई उत्पादन, रोजगारी र आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।
सभापति थापाले १० वर्षपछि खुलेको खुलामञ्चलाई पनि जनतासँग संवाद गर्ने राजनीतिक संस्कारसँग जोडेर व्याख्या गरे। खुलामञ्च काठमाडौंको एउटा चौर मात्रै नभएको भन्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा यसको महत्वपूर्ण भूमिका रहेको बताए।
बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायतका नेताले यही ठाउँबाट जनतासँग संवाद गरेको स्मरण गर्दै उनले अहिले पनि नागरिकले आफ्ना प्रश्न राख्न पाउने यस्ता खुला ठाउँ आवश्यक रहेको बताए।
‘नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने, ‘यो देशलाई खुलामञ्च चाहिएको छ। यसकारण हामी १० वर्षपछि खुलामञ्च खुलाएर आएका छौँ।’ उनले संसद् पनि जनताका प्रश्न र आवाजका लागि खुला हुनुपर्ने बताए। प्रधानमन्त्रीले जनताको कुरा नसुन्दासम्म संसद् र शासन व्यवस्था जनताका लागि खुला भएको अनुभूति नहुने उनको भनाइ थियो। पार्टीभित्र पनि नेतृत्वलाई प्रश्न गर्ने र फरक मत राख्ने वातावरण बनाउनुपर्ने उनले बताए।
थापाले कांग्रेसभित्रको पुस्तान्तरण र नेतृत्व परिवर्तनको प्रसंगमा पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिको विषय पनि उठाए। महाधिवेशनमा देउवाका लागि कुर्सी खाली राखिएको भए पनि उनी सहभागी हुन नआएको भन्दै उनले पार्टीले अब यस विषयमा पनि स्पष्ट धारणा बनाउनुपर्ने बताए।
‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ, तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो?’ उनले भने। कांग्रेसबाट बाहिरिएका केही नेताको विषयमा पनि अब स्पष्ट रूपमा कुरा गर्नुपर्ने थापाले बताए।
‘केही साथीहरू छोडेर जानुभएको छ। उहाँहरूले कांग्रेस छाडेको हो। यो पनि हामीले भन्नुपर्ने छ। यसको उत्तर अब दिनुपर्छ,’ उनले भने।
उनले कांग्रेसको नेतृत्व र संगठनमा परिवर्तनसँगै पार्टीबाट बाहिरिएका नेता–कार्यकर्तासँगको सम्बन्धबारे पनि स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताए। थापाले जनताले दिएको मतको सम्मान गर्दै संसद्मा पुगेका कांग्रेसका सांसदले जिम्मेवारीअनुसार काम गर्नुपर्ने बताए। संसद्मा कांग्रेसका तर्फबाट पुगेका सांसदलाई प्रशिक्षण दिएर प्रभावकारी रूपमा काम गर्न तयार पारिएको उनले बताए।
‘मत हाल्नुभएको हो। संसद्भित्र पनि तपाईंहरूको तर्फबाट ४०–५० जना कांग्रेसहरूलाई प्रशिक्षित गरेर राम्रा–राम्रा कुरा सिकाएर पठाएका छौँ,’ उनले भने।सांसदहरूले संसद्मा जनताको आवाज उठाउने, सरकारलाई प्रश्न गर्ने र नीतिनिर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। जनताले दिएको मतलाई केवल निर्वाचन जित्ने आधारका रूपमा नभई जिम्मेवारीका रूपमा लिनुपर्ने उनले बताए।
थापाले कांग्रेस अब निराशा र निन्दाको राजनीतिबाट बाहिरिनुपर्ने बताए। सामाजिक सञ्जालमा आलोचना गर्ने, अरूलाई दोष दिने वा विगतका कमजोरी मात्र गन्नेभन्दा आफ्नो काम र परिणामबाट कांग्रेसको पहिचान स्थापित गर्नुपर्ने उनको भनाइ थियो। ‘एउटा संकल्प गरौँ– निराश र निन्दक भएर होइन, कर्मबाट, आफ्नो पहिचानबाट स्थापित गर्नेगरी संकल्प गर्नेछौँ,’ उनले भने।
उनले कांग्रेसको आगामी यात्रा जनतासँग जोडिएको हुनुपर्ने बताए। पार्टीभित्र लोकतान्त्रिक संस्कार बलियो बनाउने, जनताका प्रश्न सुन्ने, युवाका अपेक्षा सम्बोधन गर्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक विकासलाई प्राथमिकता दिने गरी कांग्रेस अघि बढ्नुपर्ने उनको भनाइ थियो।
थापाले १५औँ महाधिवेशनबाट कांग्रेसले नयाँ ऊर्जा लिएर बाहिरिनुपर्ने बताए। नेतृत्व परिवर्तनसँगै सोच, कार्यशैली र राजनीतिक संस्कारमा पनि परिवर्तन देखिनुपर्ने उनको भनाइ थियो।
‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ’ भन्ने विश्वास लिएर महाधिवेशनबाट बाहिरिनुपर्ने बताउँदै थापाले कांग्रेसलाई लोकतन्त्रको रक्षा गर्ने मात्र होइन, लोकतन्त्रको माध्यमबाट जनताको जीवनमा परिवर्तन ल्याउने राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गर्नुपर्ने बताए।











