केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै शिव शङ्कर

देश । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। उनी सर्लाहीबाट तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका हुन्।

क्षेत्रीय अधिवेशनबाट निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गर्दै रिजालले कला क्षेत्रका मुद्दा राजनीतिक तहमा प्रभावकारी रूपमा उठाउन नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेससँग जोडिएको आफ्नो राजनीतिक यात्रालाई अब पार्टीको केन्द्रीय तहसम्म अघि बढाउने उद्देश्यले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए।

‘नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेससँग जोडिएको मेरो राजनीतिक यात्रालाई अब थप अगाडि बढाउँदै १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको हुँ। मेरो उपस्थितिले कांग्रेसमा कला क्षेत्रका मुद्दा र समस्यालाई अझ बलियो ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने।

रिजाल नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक महासंघका महामन्त्रीसमेत हुन्। यसअघि १४औँ महाधिवेशनमा पनि उनी सर्लाही क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको केन्द्रीय कार्यक्रम असोज १६ देखि १९ गतेसम्मका लागि निर्धारित गरिएको थियो। विभिन्न क्षेत्रमा अधिवेशन प्रक्रिया प्रभावित भएपछि कार्यतालिकामा केही हेरफेर गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कमेन्ट गर्नुहोस्