खेलकुद । तेस्रो संस्करणको ‘हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ। राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै मेन्टेन एफसीले उपाधि जितेको हो।
उपाधिसँगै मेन्टेन एफसीले रनिङ सिल्ड, ट्रफी, पदक र नगद ३ लाख रुपैयाँ प्राप्त गरेको छ। निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। उपविजेता भोटे एफसीले पदकसहित नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ। यार्सा एफसी धरानले फेयर प्ले अवार्ड जित्दै नगद २० हजार रुपैयाँ हात पारेको छ।
व्यक्तिगत विधातर्फ मेन्टेन एफसीका प्रशिक्षक प्रदीप सापकोटा उत्कृष्ट प्रशिक्षक घोषित भए। मेन्टेन एफसीकै आशिष डंगोल उत्कृष्ट व्यवस्थापक चुनिए। यार्सा एफसीका रिवस मास्के प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा भोटे एफसीका एन्जल गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए। भोटे एफसीकै मौसम लामाले इमर्जिङ प्लेयरको अवार्ड प्राप्त गरे।
४४ टोलीको सहभागिता रहेको प्रतियोगिता दुई दिनसम्म सञ्चालन भएको थियो। नकआउट ढाँचामा आयोजित खुला प्रतियोगितामा राजधानीबाहिरका ६ टोलीले समेत सहभागिता जनाएको आयोजक हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी दिए।
समापन समारोहमा विजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी अनिता बस्नेत र हिराकुमारी भुजेललगायतले पुरस्कार प्रदान गरेका थिए।









