विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । पछिल्लो समय चीनमा त संक्रमणको संख्या कम छन् तर संयुक्त राज्य अमेरिकामा भने यसले महामारीको रुप लिएको छ ।
अमेरिकामा मृतक संख्या २८ हजार ३ सय ९९ पुगेको छ । भने , यहा संक्रमितको संख्या ६ लाख ४१ हजार ९ सय १९ जना पुगेको छ । यसैगरी ५२ हजार १ सय ९६ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो समय सबैभन्दा बढी संक्रमित र मृत्यु हुने राष्ट्रमा अमेरिका पर्छ । विश्वले पछिल्लो समय अमेरिका कोरोना भाइरसले ग्रस्त भएको भनिरहदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार गरिसकेको जनाउदै केही राज्यहरु यही महिनादेखि पुन खुलाउन थाल्ने बताएका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उनले राज्यहरु फेरि खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग कुरा गरेपछि घोषणा गर्ने बताएका छन् ।ट्रम्पले ३३ लाख जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको जानकारी गराएका छन् । अमेरिकी राष्ट्रपति कार्यालयले आउँदो मे महिनाको एक तारेखबाट अमेरिका खुला गर्ने विषयमा तयारी गरिरहेको छ । तर ट्रम्पले कुनै कुनै राज्य त्यसअघि नै खुला गर्न सकिने बताएका छन् । (एजेन्सी)









