देश । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी स्वरूप प्रधानमन्त्री शेरवहादुर देउवाले संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । सरकारको आयु सुनिश्चित गर्न देउवाले विलम्ब नगरी विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ । कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १ सय २७ सांसद हुन्छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।











