फिल्म । मल्टिस्टारर फिल्म ‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार पोस्टर सार्वजनिक गरेको हो। फिल्मको फस्र्टलुक पोस्टरमा पाँच पाण्डव अर्थात् फिल्मका मुख्य पाँच कलाकारलाई प्रस्तुत गरिएको छ। पोस्टरमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन्।
पोस्टरमार्फत फिल्मका मुख्य पात्रको चरित्रसमेत सार्वजनिक गरिएको छ। पोस्टरअनुसार हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नकुल र सुशील सिटौला सहदेवको भूमिकामा छन्।
घोडाले तानिरहेको साजसज्जायुक्त बग्गीमा पाँच पाण्डवलाई देखाइएको पोस्टरमा युधिष्ठिर अर्थात् हरिवंश अगाडि बसेका छन् भने उनको पछाडि बाँकी चार जना उभिएका छन्। पाँचै जना प्रफुल्ल मुद्रामा देखिन्छन्। पोस्टरले उनीहरूबीचको एकता, मिलन र भाइचारालाई संकेत गर्छ। निर्देशक वसन्त निरौलाले पोस्टरमार्फत पात्रको परिचय सार्वजनिक गरिएकाले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढ्ने अपेक्षा रहेको बताए।
‘हामीले आज सार्वजनिक गरेको पोस्टर दर्शकले पक्कै रुचाउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। क्यारेक्टर रिभिल गरेका छौँ। हामीले कतै न कतै देखिरहेका पात्र र लुक्स भएकाले यी पात्र दर्शकमाझ चाँडै लोकप्रिय हुने र फिल्मप्रति दर्शकको प्रतीक्षा बढ्ने विश्वास लिएका छौँ’, उनले भने।
तिहारको छेको पारेर फिल्म ‘पाँच पाण्डव’ कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। हाल फिल्मको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ। फिल्मको सम्पूर्ण ध्वनि डल्बी एटमसमा तयार गरिने निर्देशक निरौलाले बताए। उनका अनुसार दर्शकले फिल्म हेर्दा डल्बी एटमस ध्वनिको अनुभव गर्न पाउनेछन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा नेपाली फिल्म क्षेत्रका दिग्गज तथा नयाँ पुस्ताका चर्चित कलाकारको अभिनय छ। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य पाँच पाण्डवको भूमिकामा छन्।
त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने लगायतका कलाकारको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको छ। फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मकी निर्मात्री काली रानी श्रेष्ठ हुन्।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलका अनुसार यो सामाजिक विषयवस्तुमा आधारित फिल्म हो। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको उनले बताए।
फिल्मको छायांकन श्याम तामाङले गरेका हुन्। सुप्रिम पराजुलीले सम्पादन तथा रङ्ग संयोजन गरेका छन्। अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको ध्वनि डिजाइन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत, पुकार धिमालको भिएफएक्स र रोहित राज गौतमको एचओपी रहेको छ। विष्णु बुढाथोकीले निर्माण व्यवस्थापन सम्हालेका छन्। ‘पाँच पाण्डव’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।











