फिल्म । अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ भाइटीकाको भोलिपल्टदेखि प्रदर्शनमा आउने भएको छ । बुधबार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले कात्तिक २६ गतेलाई प्रदर्शन मिति तय गरेको हो । यसअघि फिल्मलाई दसैंको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, दसैंमा फिल्मको प्रदर्शन चाप बढेपछि ‘बाटुलो जून’लाई तिहारमा सारिएको हो ।
नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक भुवन केसीले दसैंमा अन्य फिल्म पनि प्रदर्शनमा आउने भएकाले पर्दा बाँडफाँडमा समस्या हुने वितरक तथा प्रदर्शकको सुझावलाई ध्यानमा राखेर नयाँ मिति तय गरिएको बताएका छन्।
‘यसअघि दसैंको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दसैंमा अन्य चार फिल्म पनि प्रदर्शनमा आउने र थप अर्को फिल्म पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौँ। भिडेर जानुभन्दा पनि मिलेर जानु नेपाली फिल्म उद्योगको भलाइमा छ,’ उनले भनेका छन्।
सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल मुद्रामा देखिएका छन्। अनमोलको लुक्सले ५० को दशकको झल्को दिन्छ। पोस्टरको पृष्ठभूमिमा बलिरहेको लाल्टिन र आकाशमा टहटहाएको जूनले उनीहरूबीचको आत्मीय सम्बन्धलाई संकेत गरेको छ। पोस्टरले फिल्म ग्रामीण परिवेशमा बुनिएको प्रेमकथामा आधारित रहेको संकेत गर्छ।
सानराइज पिम्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सह–निर्माता रहेका छन्। सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय छ ।










