फिल्म । नेपाली फिल्म क्षेत्रको सफल फ्रेन्चाइज ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आगामी दसैँको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई), बीके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)लाई उनीहरूकै चरित्रमा प्रस्तुत गरिएको छ। पोस्टरमा काजी अर्थात् दयाहाङ पार्कको एउटा कुर्सीमा हातमा क्रिकेट ब्याट लिएर सोचमग्न अवस्थामा बसेका छन्। उनलाई बीके र छन्त्यालले गम्भीरतापूर्वक नियालिरहेको दृश्यले दर्शकमाझ कौतूहल सिर्जना गर्ने प्रयास गरेको छ।
यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’का चारवटै शृङ्खलाले बक्स अफिसमा सफलता हासिल गरेका थिए। विशेषगरी चौथो शृङ्खला ‘कबड्डी ४ : द फाइनल म्याच’ले करिब २२ करोड रुपैयाँको ग्रस कलेक्सन गर्दै लामो समयसम्म सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड कायम गरेको थियो।
त्यही सफलता र ब्रान्ड भ्यालुलाई निरन्तरता दिने चुनौतीका बीच पाँचौँ भाग तयार पारिएको हो। चौथो शृङ्खलालाई नै ‘फाइनल म्याच’ भनिएको थियो। तर दर्शकको माग र विषयवस्तुमा पात्रहरूको कथा अधुरो रहेकाले त्यसलाई पूरा गर्न पाँचौँ शृङ्खला निर्माण गरिएको निर्देशक रामबाबु गुरुङले बताएका छन्।
बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङसँगै विपीन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंलगायतको अभिनय रहेको छ।
निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले फिल्ममा लगानी गरेका छन्। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत रहेको छ। सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। फिल्मलाई नेपालमा ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेश वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले सम्हाल्नेछ।










