‘झिंगे दाउ २’ हेरेर प्रशंसामा रोकिएनन् फिल्मकर्मी

फिल्म । असोज २ शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को ललितपुरस्थित लाबिम मलमा रहेको क्यूएफएक्समा प्रिमियर आयोजना गरिएको छ। फिल्मकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थितिमा आयोजित प्रिमियरमा ‘झिंगे दाउ २’ले उत्साहजनक प्रतिक्रिया पाएको छ।

फिल्म हेर्न पुगेका अधिकांशले यसको कथावस्तु, मेकिङ, कलाकारको अभिनय तथा गीतसंगीतको प्रशंसा गरेका छन्। फिल्म हेरेपछि निर्माता सरोज न्यौपानेले निर्देशकले इमानदारीपूर्वक फिल्म बनाएको भन्दै प्रशंसा गरे। ‘यो फिल्मलाई मनैदेखि तारिफ गर्न चाहन्छु। निर्देशकले इमानदार भएर फिल्म बनाउनुभएको छ। यो फिल्म तिहारसम्म चल्छ भन्ने मलाई लाग्छ’, उनले भने।

कलाकार जयकिशन बस्नेतले ‘झिंगे दाउ २’ले पहिलो हाफमा हँसाउने र दोस्रो हाफमा भावुक बनाउने बताए। केही फिल्म राम्रा र केही धेरै राम्रा हुने उल्लेख गर्दै उनले ‘झिंगे दाउ २’ धेरै राम्रो फिल्म बनेको प्रतिक्रिया दिए। उनले बाबुआमासँगै फिल्म हेर्न दर्शकलाई आग्रहसमेत गरे।

फिल्म हेरेपछि समीक्षक तथा फिल्म लेखक सामीप्यराज तिमिल्सिनाले पनि यसको खुलेर प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘झिंगे दाउ २’ शब्दले मात्र होइन, भावले पनि पूर्ण पारिवारिक, पूर्ण मनोरञ्जक र मौलिक फिल्म बनेको छ। पिरियड सेटिङमा विश्वसनीय फिल्म बनाउनु गाह्रो काम हो। फिल्मले यो चुनौती स्वीकार गर्दै फिल्म निर्माणलाई गम्भीर रूपमा लिन प्रेरित गर्छ।’

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन्।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

फिल्ममा केकी अधिकारी र आँचल शर्माका साथै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ। फिल्मको बुकिङसमेत खुलिसकेको छ। ‘झिंगे दाउ २’ले नेपालभरका हलमा उच्च शो पाएको निर्माण पक्षले जनाएको छ। प्रदर्शकले फिल्ममाथि उच्च भरोसा राखेको देखिएको र फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्