‘पार्वती’को कमब्याक !

फिल्म । प्रारम्भिक व्यापारिक सुस्तता र बाढीपहिरोको प्रभावलाई चिर्दै नीता ढुङ्गानाद्वारा निर्देशित फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा आक्रामक कमब्याक गरेको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन अपेक्षाकृत न्यून दर्शक उपस्थिति तथा रसुवामा गएको भीषण बाढीपहिरोका कारण सुरुवाती धक्का व्यहोरेको फिल्मले तेस्रो दिनदेखि भने व्यापारमा ठूलो फड्को मारेको हो । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियासँगै फिल्मको ‘माउथ पब्लिसिटी’ बलियो बनेपछि हलमा दर्शकको चाप बढेको निर्माण पक्षको भनाइ छ ।

सुरुवातमा न्यून सो पाएको ‘पार्वती’ले दर्शकको बढ्दो चापसँगै अहिले देशभरका हलमा ११० भन्दा बढी सो प्राप्त गर्न सफल भएको छ । विशेषगरी भारतीय फिल्म ‘टक्सिक’को कमजोर समीक्षा र खस्किँदो व्यापारको फाइदा समेत ‘पार्वती’ले उठाएको बताइएको छ ।

अटिजम प्रभावित दिदीप्रति भाइले देखाउने अगाध प्रेम र पारिवारिक सङ्घर्षमा आधारित भावुक कथावस्तु फिल्मको सफलताको मुख्य आधार बनेको छ । फिल्म हेरेर हलबाट बाहिरिने क्रममा दर्शक भावुक बनेका दृश्यहरू पनि देखिएको निर्माण पक्षले जनाएको छ ।

सुरुवाती चरणमा सो नै घट्ने अवस्था आए पनि दर्शकको सकारात्मक प्रतिक्रियाले अहिले फिल्मको व्यापारमा अपेक्षाभन्दा राम्रो उत्साह थपिएको निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले बताएकी छन् ।

यतिबेला फिल्मका कलाकारसहित निर्माण टोली दर्शकसँग साक्षात्कार गर्न पश्चिम नेपालका विभिन्न हलमा पुगेको छ । कैलाली, कञ्चनपुरलगायतका क्षेत्रमा दर्शकसँग भेटघाट गरिरहेको टोलीले त्यहाँबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको छ ।

हरिहर अधिकारीको निर्माण रहेको ‘पार्वती’मा नीता ढुङ्गानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ । सुरुवाती कमजोर व्यापारपछि दर्शकको सकारात्मक प्रतिक्रियासँगै बक्स अफिसमा आक्रामक कमब्याक गर्ने फिल्मको सूचीमा अहिले ‘पार्वती’ पनि थपिएको छ ।

कमेन्ट गर्नुहोस्