सङ्गीत । पप गायिका आरियाना ग्रान्डेले आफ्नो ‘इटर्नल सनराइन’ टुर सम्पन्न गरेसँगै सार्वजनिक जीवनबाट केही समय विश्राम लिने घोषणा गरेकी छन् । लण्डनमा आयोजित टुरको अन्तिम कन्सर्टमा उनी भावुक बनेकी थिइन् । सन् २०१७ मा भएको म्यानचेस्टर आतङ्ककारी हमलाका पीडितहरूको सम्झनामा विशेष बनेको आफ्नो गीत ‘वन लास्ट टाइम’ प्रस्तुत गर्ने क्रममा ग्रान्डेका आँखा रसाएका थिए ।
आफ्नो स्वास्थ्य र शारीरिक बनावटलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीका बीच ग्रान्डेले गत महिना नै भविष्यका सार्वजनिक कार्यक्रमबाट टाढा रहने संकेत गरेकी थिइन् । यसै निर्णयअनुसार उनले लण्डनको बार्बिकनमा आगामी ग्रीष्मकालमा मञ्चन हुने नाटक ‘सन्डे इन द पार्क विथ जर्ज’ बाट समेत आफ्नो नाम फिर्ता लिएकी छन् ।
शोको अन्त्यमा फ्यानहरूलाई धन्यवाद दिँदै ग्रान्डेले यो अनुभव आफ्नो जीवनकै सबैभन्दा सुन्दर र असाधारण क्षणमध्ये एक भएको बताइन् । उनले आफ्ना समर्थकप्रति आभार व्यक्त गर्दै यो यात्रालाई आफूले सधैँ सम्झिरहने बताइन् ।
नयाँ म्युजिक भिडियो ‘पेटल’ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको तौल र शारीरिक बनावटलाई लिएर विभिन्न टिप्पणी भएका थिए । बढ्दो नकारात्मक टिप्पणी र निरन्तरको सार्वजनिक निगरानीका कारण उनले केही समय सार्वजनिक जीवनबाट टाढा रहने निर्णय गरेको बताइएको छ । तर, ग्रान्डेले भने यो निर्णय पछिल्लो समय उत्पन्न परिस्थितिका कारण मात्र नभई लामो समयदेखि सोचविचार गरेर लिइएको स्पष्ट पारेकी छन् । उनका अनुसार मानिसहरूले आफ्नो सीमाना तय गर्न र आवश्यक परेको बेला विश्राम लिन सक्नुपर्छ ।










