फिल्म । नेपाली फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भइन भने’ सार्वजनिक गरिएको छ। फिल्मको पहिलो गीत ‘दिलमा ठाउँ छ’ युट्युबमा एक करोड भ्युजको नजिक पुगिरहेका बेला निर्माण पक्षले रोमान्टिक गीत सार्वजनिक गरेको हो।
‘म भइन भने’मा गायक सुरेश लामा र गायिका दुर्गा खरेलको स्वर रहेको छ। फिल्मका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन्।
गीतको भिडियो भारतका पर्यटकीय तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको हो। उत्सव दाहालको छायांकन र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
फिल्मका प्रस्तुतकर्ता तथा संगीतकार पोखरेलले कथाको गहिराइ र दृश्यको मागअनुसार गीत छायांकनका लागि भारतका ती स्थान छनोट गरिएको बताए।सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता तथा प्रताप शमशेर राणा निर्माता छन्। शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता रहेका छन्। कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ।












