फिल्म । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘युग’को वर्कसप सम्पन्न भएको छ। वर्कसप सकिएसँगै फिल्मको छायांकन भदौको दोस्रो सातादेखि सुरु हुने निर्देशक कोमलनाथ खतिवडाले जानकारी दिएका छन्।
फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै रहेको छ। सामाजिक विषयवस्तुमा आधारित फिल्मलाई सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले निर्माण गर्दैछन्। ‘युग’मा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापालगायत कलाकारको अभिनय रहनेछ।
फिल्ममार्फत चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन्। त्यस्तै, मोडल तथा ‘मिस्टर हेन्डसम नेपाल २०१९’का विजेता अभिषेक खड्काले पनि यही फिल्मबाट अभिनय यात्रा सुरु गर्नेछन्।
निर्माण पक्षका अनुसार वर्कसपमार्फत कलाकारहरूको तयारीलाई अन्तिम रूप दिइएको छ। अब भदौको दोस्रो सातादेखि फिल्मको छायांकन तीव्र गतिमा अघि बढाइनेछ।












