फिल्म । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २४ करोड रुपैयाँ बढीको व्यापार गरेको छ । ‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्मसमेत बनेको छ । प्रदर्शनको ३४ औँ दिनमा पनि दर्शकको भिडभाड उस्तै भएपछि काठमाडौँ उपत्यकामा रहेका विभिन्न हलमा पुगेर अभिनेता अरुण क्षेत्रीले दर्शकसँग भेटघाट गरेका छन् ।
फिल्ममा उनले ठूले नामक पात्रको भूमिका निर्वाह गरेका छन् । डेब्यु फिल्म ‘महापुरूष’ मार्फत नै सफलता पाएका अरुणको स्टारडम् पुनः प्रस्टिएको छ । दर्शकको मायाले अरुण पनि दंग छन् ।
‘दर्शकले जुन विश्वास गरेर हलसम्म आउनुभएको छ, फर्किंदा सन्तुष्ट पाएको छु, यो हाम्रो ठूलो सफलता हो । नेपालभरका विभिन्न हलमा प्रतिक्रिया लिन पुग्दा विभिन्न उमेर समूहको दर्शक पाएँ, अर्थात् हाम्रो फिल्म सबैलाई मन परेको छ । हामीलाई दर्शकले दिनुभएको माया प्रति कृतज्ञता व्यक्त गर्ने कुनै शब्द छैन’, अरुणले भने ।
उनी फिल्म ‘गौँथली’ को जापान प्रिमियरमा सहभागी हुन् टोक्यो पुग्दैछन् । कुनै समय कलाकारितामा भविष्य बनाउन जापान छाडेर नेपाल फर्किएका अरुण पछिल्लो समय नेपाली फिल्मको ‘सुपरस्टार’ को रुपमा जापान प्रिमियरमा सहभागी हुनेछन् ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।












