फिल्म । फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । स्वर्गीय भीमनिधि तिवारीको कृतिमा आधारित फिल्म ‘झिँगेदाउ’ र प्रेमकथामा आधारित फिल्म ‘सम्हालिन्छ कहिले मन’ एकसाथ प्रदर्शनमा आएका हुन् । दुई फिल्मले नेपाली फिल्मको दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ । दुवै फिल्म फरक जनराका छन् । ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा तयार फिल्म ‘झिँगेदाउ’ एक परिवारको कथा हो ।
आमा र दुई छोराको परिवारमा बुहारी आएपछि आउने अवस्थालाई फिल्ममा देखाईएको छ । यस्तै सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ । फिल्मलाई बेलायतका रमणीय दृश्यमा खिचिएको छ । लभ स्टोरीलाई पर्दामा उतार्न माहिर मानिने निर्देशक थापाले फिल्मलाई ‘लार्जर देन लाइफ’ देखाउने कोसिश गरेका छन् ।
झिँगेदाउ
स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा रहेर तयार गरिएको सोही नामको फिल्म प्रदर्शनमा आएको छ । आधुनिकता तर्फ उन्मुख समाजमा निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले प्राचीन नेपाली समाजको कथा लिएर आएका छन् । केहि वर्षको विश्राम पश्चात निर्माण तथा निर्देशनमा कमब्याक गरेका निर्देशक देउजा यसलाई ‘एभरग्रीन कथा’ भन्न रुचाउछन् । ‘यसलाई फिल्मको पर्दामा ल्याउने मेरो वर्षौं अगाडीको योजना हो । अहिले बल्ल आउँदैछ’ निर्देशक देउजा भन्छन् ,’फिल्मकै लागि लेखिएको कृति जस्तो लाग्छ । किनकी यो फन्नी छ , यसमा ड्रामा छ , सामाजिक संदेश छ । मैले निर्देशकको आँखाले यसमा फिल्मलाई चाहिने सम्पूर्ण पक्ष पाए ।’
फिल्म देउरानी–जेठानीको झगडामा केन्द्रित रहेको छ । यो फिल्ममा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानी बनेका छन् । आँचलले केकी अधिकारीसँग काम गर्दा धेरै कुरा सिकेको बताउँदै उनले यो फिल्मबाट कलाकारको रुपमा आफूलाई थप फाइदा हुने बताउँछिन् । फिल्मले देउरानी–जेठानीले झिंगे दाउ खेल्ने क्रममा उत्पन्न हुने परिस्थितिका कथा बयान गर्छ । पुरानो समयमा सिक्का राखेर यो दाउ खेलिन्थ्यो र जुन सिक्कामा आएर झिंगा बस्छ त्यो खेल्नेको हुने प्रचलन थियो । त्यहिँ इभेन्टले आउँदो समयमा निर्माण गर्ने घटनाक्रम फिल्ममा देखाइएको छ ।
कलाकार मुकुन भुसालले फिल्मले २० को दशकको नेपालसँगै सामाजिक सम्बन्धलाई फिल्मले मनोरञ्जनक हिसाबले वाचन गरेको बताउँछन् । यो फिल्मले आमा र दुई दाजुभाइको कथा पनि पेश गर्छ । फिल्ममा कुशल बिष्ट भाइ बनेका छन् । फिल्ममा हिउँवाला गौतम, संगम भण्डारी, आयान खड्का र अभय बरालको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्ममा पटकथा प्रदीप भारद्वाजको रहेको छ ।
सम्हालिन्छ कहिले मन
सुगम पोखरेलद्वारा सिर्जित सुपरहिट गीत ‘सम्हालिन्छ कहिले मन’को सिनेम्याटिक संस्करण फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएको छ । सुदर्शन थापा निर्देशित फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन मुख्य भूमिकामा छन् ।त्रिकोणात्मक प्रेम भाव प्रस्तुत गर्ने फिल्मको दृश्यलाई बेलायतको रमणीय स्थानमा कैद गरिएको छ । फिल्ममा सरोज खनाल, धीरेन शाक्य र गौरी मल्लको समेत मुख्य भूमिका छ । एबी इन्टरनेसनलको प्रस्तुतिमा भिक्टर सिनेमा लिमिटेडले फिल्म निर्माण गरेको हो ।
कन्टेनसँगै मेकिङ पनि बलियो हुनुपर्ने बताउने निर्देशक थापाले यसमा बेलायतको रमणीय दृश्यलाई कैद गर्न कन्जुस्याइँ गरेका छैनन् । उनी पछिल्लो समय मेकर्सको क्यानभास नै साँघुरो भएको बताउछन् । ‘नेपालमा बन्ने सबै फिल्म नेपालीपन बोकेका , नेपाली कथाकै हो । हामीले एकथरी फिल्मलाई मात्र नेपाली माटो सुहाउँदो भनेर व्याख्या गर्नु मलाइ ठिक लागेको छैन । हामीले मौलिक फिल्मलाई साँघुरो सोचका साथ् बनाउने भएकाले पनि दर्शक तानिनु भएको छैन’ उनले भने ।
सुदर्शन कन्टेन र मेकिङ्ग दुवै पक्ष बलियो हुनुपर्नेमा जोड दिन्छन । उनी दुवै पक्ष बलियो भए मात्र स्तरीय फिल्म दर्शकले पाउने बताउछन् । ‘मैले डेब्यु फिल्म देखि अहिलेसम्म केहि नकेहि सिक्दै आइरहेको छु । हामीलाई सिकाइले नै हो सुधार्दै जाने । आउँदो दिनमा काममा पक्कै परिपक्वता पाउनु हुनेछ’ उनले भने । उनी फिल्मलाई निर्देशकको दृश्य परिकल्पना भन्छन् । ‘स्क्रिप्ट पढ्नका लागि लेखिएको हो अर्थात् साहित्यकै स्वरुप हो । त्यो जब फिल्म बन्छ, तब त्यो हेर्नका लागि बनाइन्छ । त्यहाँ कन्टेन्ट, लोकेशन, सिनेमाटोग्राफी, साउन्डलगायत सबै पक्ष पर्छन् । हामीले कन्टेन्टमात्रै भनिरहदाँ मेकिङ राम्रो गर्न सकेनौं भने त्यसको कुनै अर्थ रहदैँन’ निर्देशक थापाले भने ।