फिल्म । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा र हिंसाको कथा प्रस्तुत गरिएको छ। केटाको पारिवारिक पृष्ठभूमि नबुझी अनुहार र धनसम्पत्तिका आधारमा छोरीको विवाह गराउँदा निम्तिन सक्ने कारुणिक परिणामलाई टिजरमा देखाइएको छ।
फिल्ममा सुशील पोखरेलले बुबा र न्यान्सी खड्काले उनकी छोरीको भूमिका निर्वाह गरेका छन्। सुशील सिटौला न्यान्सीका श्रीमान्को भूमिकामा देखिएका छन्। रक्सीको लतमा परेर श्रीमतीमाथि हिंसा गर्ने र आफ्नो पारिवारिक धाक देखाउने चरित्रमा सिटौला प्रस्तुत भएका छन्।
श्रीमान्को कुटाइ खाएपछि माइती पुगेकी छोरीले बुबासामु व्यक्त गरेको मार्मिक संवाद टिजरको मुख्य आकर्षण बनेको छ। टिजरमा न्यान्सी भन्छिन्, ‘कतिन्जेल नारीले मात्रै आफ्नो घर–थर सार्नुपर्ने? अरूलाई खुसी पार्ने बहानामा सधैँ आफू हार्नुपर्ने? छोरी भनेको अरूको घर जाने मात्र होइन बा, माइतीको टेको पनि हो। के म टेको बन्न पाउँदिनँ र बा?’
उक्त संवादले फिल्मको कथावस्तु र नारीले भोग्नुपरेका सामाजिक तथा पारिवारिक समस्याको झल्को दिएको छ। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता सोनी थापा ‘ढुङ्गाना’ हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले फिल्ममा लगानी गरेका छन्। सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्।
फिल्मको मूल कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्। फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेलसँगै अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने ‘ल्याग्री दादा’ र सृष्टि खड्कालगायतको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।
फिल्मका गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ। गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीले स्वर दिएका छन्। फिल्मलाई गौतम खड्काले सम्पादन गरेका हुन् भने टिजर तथा ट्रेलरको काम साहिल खानले गरेका छन्।
दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्। ‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।










