‘आवारापन २’ मा यस्तो देखिए इमरान

फिल्म । भारतीय अभिनेता इमरान हाश्मी अभिनीत फिल्म ‘आवारापन २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य पात्र शिवम पण्डितको पीडा, आक्रोश र बदलाको यात्रालाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ।

‘आवारापन’को सिक्वेलमार्फत इमरान हाश्मी १९ वर्षपछि आफ्नो चर्चित पात्र शिवमको भूमिकामा पुनः फर्किएका छन्। ट्रेलरमा शिवम अतीतका सम्झना र आलियाह (श्रिया सरन) को वियोगबाट अझै मुक्त हुन नसकेको देखिन्छ। यद्यपि, निर्माण टिमले कथावस्तुबारे धेरै खुलासा गरेको छैन।

फिल्ममा शबाना आजमी नकारात्मक भूमिकामा देखिएकी छन् भने दिशा पटानी जारा नामक पात्रका रूपमा प्रस्तुत भएकी छन्। ट्रेलरमा तीव्र एक्सन र भावनात्मक दृश्यहरूको सन्तुलित मिश्रण देख्न सकिन्छ। अन्तिम दृश्यमा शिवमले भन्ने संवाद, ‘एक–एक गरेर मर्छौ कि सबै सँगै ?’ ले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढाएको छ।

पहिलो ‘आवारापन’झैँ यसको संगीत पनि फिल्मको प्रमुख आकर्षण बनेको छ। फिल्ममा मिथुन, जीत गांगुली, अमाल मल्लिक, अंकित सचदेव र वासिफ अहमदको संगीत रहेको छ।

मुकेश भट्ट र विशेष फिल्म्सको प्रस्तुतिमा बनेको ‘आवारापन २’ को निर्देशन नितिन कक्करले गरेका हुन् भने निर्माता विशेष भट्ट रहेका छन्। फिल्ममा इमरान हाश्मी, दिशा पटानी र शबाना आजमी मुख्य भूमिकामा छन् ।

कमेन्ट गर्नुहोस्