दर्शकको साथले रेकर्ड बनाउँदै ‘गौँथली’

फिल्म । डा. कपिल रिजाल निर्देशित नेपाली फिल्म ‘गौँथली’ ले घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । यो वर्षको ‘क्लिनहिट’ फिल्म ‘गौँथली’ बन्न सफल भएको छ । नत फिल्म सिक्वेल, नत फिल्ममा कुनै ठूलो व्यानर, नत फिल्ममा ठूला स्टारकास्ट तर पनि फिल्मले दर्शकको साथ पायो ।

‘गौँथली’ को सार्वजनिक प्रचार सामग्री तथा कलाकारको अभिनयले हलसम्म आएका दर्शकलाई नै प्रचार गर्न बाध्य बनायो । फलत: फिल्मले पहिलो १० दिनमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ कमाइ गरेको छ । ‘गौँथली’ ले यो वर्ष एक दिनमै सबै भन्दा बढी व्यापार गर्ने फिल्म, पहिलो सातामा बढी व्यापार गर्ने फिल्म र पहिलो १० दिनमा बढी व्यापार गर्ने फिल्म बनेको छ । ‘गौँथली’ ले यो रेकर्ड बनाइसकेको छ ।

यो वर्ष प्रदर्शन भएको फिल्म ‘लालीबजार’ बाहेक अन्य सबै फिल्मको लाइफटाइम कलेक्सनको रेकर्डलाई ‘गौँथली’ ले पहिलो दिनमै तोड्न सफल भएको छ । सोही अवधिमा अवधिमा फिल्मका २ लाख ६० हजार २५२ वटा टिकट बिक्री भएका छन् । सकारात्मक ‘वर्ड अफ माउथ’ र निरन्तर दर्शकको साथ कायम रहेमा ‘गौँथली’ ले चाँडै १५ करोड रुपैयाँ ग्रस कमाइको आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।

निर्माता सुमन गिरीले फिल्मले पाएको दर्शकको साथले आफ्नो टिमको मेहनतको फल पाएको आभाष भएको बताए । उनले भने, ‘गौँथलीलाई दर्शकले महसुस गर्नुभएको छ । फिल्म हेर्नेले कथासँग आफू जोडिएको बताउनुभएको छ, हामीलाई विश्वास गरेर फिल्म हेर्न आउनुभएका दर्शक फर्किंदा खुसी हुनहुन्छ, यो हाम्रो सफलता हो । बाँकी दर्शकको साथसँगै हामीलाई दायित्व थपिएको छ ।’

उनले यसै साता पूर्वका विभिन्न सहरमा पुगेर दर्शकसँग भेटघाट गर्ने समेत बताए । ‘गौँथली’ को भूमिकामा रहेकी सिम्रन खड्का र ठूलेको भूमिकामा रहेका अरुण क्षेत्रीलाई दर्शकले निकै माया दिएका छन् ।

डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

कमेन्ट गर्नुहोस्