फिल्म । दर्शकको अपारसाथ पाएको नेपाली फिल्म ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै देशभर यसको शो संख्या निरन्तर बढिरहेको छ । दर्शकको साथका कारण प्राप्त अधिकाँस शो हाउसफुल हुँदा करिब ४ करोडको हाराहारीमा फिल्मले पहिलोसातामा व्यापार गरेको हुनसक्छ । यद्यपि निर्माण पक्षले बक्सअफिस विवरण भने सार्वजनिक गरेको छैन ।
निर्देशक डा. कपिल रिजालले चलचित्र विकास बोर्डले हरेक सोमबार आधिकारिक बक्सअफिस तथ्यांक सार्वजनिक गर्ने भएकाले निर्माण पक्षले छुट्टै विवरण सार्वजनिक नगरेको बताए ।
उनले भने, ‘हरेक सोमबार बोर्डले नै बक्स अफिस डाटा सार्वजनिक गर्दै आएको छ । त्यसैले हामीले छुट्टै सार्वजनिक गरेका छैनौँ । तर, धेरैले नसोचेको भन्दा पनि सरप्राइजिङ बक्स अफिस रिपोर्ट आउनेछ ।’
उनले व्यापार भन्दा पनि फिल्मले पाएको दर्शकको माया र दिएको संदेश विशेष रहेको बताए । ‘हामीले फिल्ममार्फत फरक क्षमता भएका व्यक्तिसँग समाज र परिवारले गर्नुपर्ने व्यवहार र छोरीलाई पढाउनु पर्छ भन्ने दिएको संदेश दर्शकसम्म पुगेको छ, यो महत्वपूर्ण हो । फिल्मको व्यापार पनि राम्रो छ, तर हामी कलात्मक पक्षमा बढी केन्द्रीत छौँ’, निर्देशक रिजालले भने ।
प्रदर्शनको सुरुवातमा करिब २०० शो पाएको फिल्मले हाल २५० भन्दा बढी शो पाइसकेको निर्माण पक्षको दाबी छ। अधिकांश हलमा दर्शकको चाप बढ्दै जाँदा व्यापारिक प्रदर्शन पनि उत्साहजनक रहेको जनाइएको छ। निर्देशक, कलाकार र निर्माण टिम काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिइरहेका छन्।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।









