फिल्म । आज २६ असारदेखि फिल्म ‘भागदौड’ देशभर प्रदर्शन भएको छ । यसमा बुङ्मतीको प्राचीन सभ्यता, नेवारी कला-संस्कृति तथा त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्रीलगायत विभिन्न समुदायबीचको सहअस्तित्वलाई उजागर गरिएको जनाइएको छ । फिल्मका मुख्य अभिनेता विशाल पोखरेलका अनुसार परम्परागत प्रथा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।
उनले भने, ‘फिल्ममा मैले अभिनेताका रूपमा प्रहरीको पात्रलाई जीवन्त बनाउने कोशिस गरेको छु । पहिलो पटक म प्रहरीको रूपमा प्रस्तुत भए पनि मेरो सानैदेखिकै सपना भने प्रहरी बन्नु थियो, यसपटक त्यसलाई चलचित्रमा पूरा गरे। बाल्यकालमा म प्रहरीको भूमिकाको नक्कल गर्ने गर्थे, मलाई त्यो पोशाक र पेसा प्रति सानैदेखि सम्मान भाव थियो । यसपटक चरित्र पाउँदा मैले त्यसलाई जीवन्त बनाउने कोसिस गरेको छ ।’
उनले फिल्ममा आबद्ध हुनुको मुख्य कारण प्रहरीको चरित्र रहेको बताए । हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको उक्त चलचित्रमा अभिनेता पोखरेलसँगै अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन र सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्ममा अभिनेता घनश्याम जोशीले निकै राम्रो काम गरेका छन् । उनले फिल्ममा निर्वाह गरेको पात्रले भागदौडको अवस्था सृजना गर्छ । फिल्मले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने प्रस्तुतकर्ता विश्वराम विष्टले जानकारी दिए । उनले फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको जानकारी दिँदै दर्शकको दृष्टिकोणबाट तयार गरिएको बताए। अङ्गिरा थापा कार्यकारी निर्माता रहेको उक्त फिल्ममा भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी सहनिर्माताका रूपमा छन् ।









