फिल्म । नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित एक भव्य समारोहबीच शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्मको लेखन तथा निर्देशन राजिव गुरुङले गर्नेछन् । फिल्म घोषणा कार्यक्रमलाई फरक शैलीमा प्रस्तुत गरिएको थियो । अग्रज प्राविधिकलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकार तथा प्राविधिक टोलीको परिचय गराइएको थियो । ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि फिल्मको शीर्षक र कलाकार सार्वजनिक गरिएको थियो ।
फिल्म ‘आशा’ मा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको मुख्य अभिनय रहनेछ । निर्मात्री शर्मिला थापाले फिल्मले एउटा परिवारको कथा प्रस्तुत गर्ने बताइन् । अहिलेको व्यस्त जीवनशैलीमा परिवारसँग बिताउने समय घट्दै गएको र परिवारको कुनै सदस्यको अभावले उसको महत्व झन् बढी महसुस हुने यथार्थलाई फिल्ममा समेटिएको उनको भनाइ थियो ।
उनले भनिन्, ‘आशा पूर्ण रूपमा पारिवारिक फिल्म हो । बालकदेखि वृद्धसम्म सबैले हेर्न मिल्ने फिल्म बनाउने हाम्रो प्रयास हो । आफ्नै समाज र परिवारका कथालाई गर्वका साथ विश्वसामु प्रस्तुत गर्न सकिने विश्वासका साथ हामीले यो फिल्म निर्माण गर्न लागेका हौं ।’
उनले आगामी साउनको पहिलो सातादेखि छायंकन प्रारम्भ हुने फिल्मको सेड्युल एक महिनाको रहेको जानकारी दिईन् । उनका अनुसार फिल्म आगामी माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ मा प्रदर्शन हुनेछ । निर्देशक तथा कथाकार राजिव गुरुङले फिल्मले मनोरञ्जनसँगै सशक्त सन्देश दिने बताए । उनका अनुसार दर्शकलाई भावनात्मक रूपमा जोड्ने पारिवारिक कथालाई पर्दामा उतार्ने उद्देश्यले फिल्म निर्माण गर्न लागिएको हो ।
‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानु पर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदैछौँ । एउटा मनछुने पारिवारिक कथामा फिल्म तयार हुँदैछ, अहिले हामीले घोषणा गर्दैछौँ, यसको छायांकन सकिएपछि बाँकि जानकारी दिनेछौँ’, उनले भने ।
अभिनेता महेश त्रिपाठीले फरक विषयवस्तु र बलियो कथाले आफूलाई फिल्ममा आकर्षित गरेको बताए । ‘एउटा कलाकारलाई राम्रो कथाको खोजी हुन्छ। ‘आशा’को कथा अहिले बनिरहेका फिल्मभन्दा फरक छ । यसले मनोरञ्जनसँगै दर्शकलाई केही सोच्न पनि बाध्य बनाउनेछ’, उनले भने ।
कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका प्राविधिक कमल मिश्रलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । विसं २०४६ मा प्रदर्शन भएको फिल्म ‘अन्याय’बाट भेषभूषा विभाग (ड्रेस म्यान)मा काम सुरु गरेका मिश्रलाई निर्मात्री शर्मिला थापा, निर्देशक राजिव गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले संयुक्त रूपमा सम्मान गरेका थिए ।
पछिल्लो समय क्यान्सर पिडित भएर निको भएपछि ड्रेसम्यान मिश्र पुनः काममा सक्रिए भएका छन् । सम्मान ग्रहण गर्दै मिश्रले निर्माण टिमलाई धन्यवाद दिए । उनले भने, ‘हामीलाई काम गर्दासम्म सबैले सम्झिनु हुन्छ, म विरामी भएको थिएँ । अहिले निको भएर फाट्टफुट्ट काम गर्दैछु, यो अवस्थामा मैले पाएको यो आर्थिक सहयोगले मेरो जीविकोपार्जनमा ठूलो मदत पुग्छ । म निर्माण टिम प्रति कृतज्ञ छु ।’
फिल्ममा रामकुमार श्रेष्ठ सह–लेखक तथा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् । सुदाम सीके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक हुन् । नरेन्द्र मैनालीको छायांकन, युग भुसाल र समीर खरेलको संगीत, किशोर आचार्यको साउन्ड डिजाइन तथा सोनाली शिल्पकारको मेकअप तथा हेयर रहनेछ ।
त्यस्तै, शान्ति तामाङ सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन हेड, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) पब्लिसिटी डिजाइनर तथा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) वितरकका रूपमा आबद्ध छन् । निर्माण टिमका अनुसार फिल्म ‘आशा’को छायांकन साउन १ गतेदेखि सुरु हुनेछ भने आगामी माघ १ गते देशभर प्रदर्शनमा आउने तयारी गरिएको छ ।









