‘आ बाट आमा २’को क्रोएसिया राइट्स बिक्री

फिल्म । पल शाह, विपना थापा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ । प्रदर्शनअघि नै क्रोएसियास्थित नेप इन्टरटेन्मेन्ट (NEP Entertainment) र जाग्रेबको बुद्ध मार्टले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाका वितरकबीच प्रदर्शन अधिकारसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । पछिल्लो समय क्रोएसियामा नेपाली समुदायको संख्या बढ्दै गएसँगै त्यहाँका वितरकले फिल्म खरिद गरेको बताइएको छ ।

निर्माण टिमका अनुसार फिल्म ‘आ बाट आमा २’ को प्रदर्शन अधिकार यसअघि नै अमेरिका, क्यानडा र जापानमा पनि बिक्री भइसकेको छ । चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको फिल्म ‘आ बाट आमा २’ आगामी असोज ३० गते, बडादसैँको फूलपातीदेखि नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । फिल्मले वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा बसेकी आमाको भावनात्मक कथालाई प्रस्तुत गर्नेछ ।

आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, ‘गजनी’का चर्चित अभिनेता प्रदीप रावत, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, दिलीप अखेडा र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ । नेपालभर फिल्म ‘आ बाट आमा २’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्