फिल्म । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘अक्षरा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार निर्माता सुग्रसेन ढुङ्गानाको जन्मदिनको अवसर पारेर निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गरेको हो । निर्माण पक्षका अनुसार प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले दोस्रो पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुशील सिटौला र न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ । पोस्टरमा दुवै कलाकारको गम्भीर अभिव्यक्ति र पृष्ठभूमिले फिल्म सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित रहेको संकेत गर्छ ।
पोस्टरमा सुशील र न्यान्सी विपरीत दिशातर्फ फर्किएका देखिन्छन्, जसले उनीहरूबीचको सम्बन्धमा आएको दूरी, असमझदारी, भावनात्मक द्वन्द्व वा परिस्थितिजन्य बिछोडलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको आभास हुन्छ । पृष्ठभूमिमा धमिलो रूपमा देखिएको भीडले उनीहरूको व्यक्तिगत जीवन र सम्बन्धमा समाजको प्रभाव तथा दबाब रहेको संकेत पनि गरेको छ ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्कासँगै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना पनि प्रस्तुत भएका छन् ।
निर्माण पक्षका अनुसार कलाकारहरूले फिल्मका लागि विशेष मेहनत गरेका छन्। फिल्मको छायांकन झन्डै डेढ महिनामा सम्पन्न गरिएको हो । सोनी थापा (ढुङ्गाना) को प्रस्तुति रहेको फिल्मका निर्देशक विनय राज पौडेल हुन् । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन् ।
फिल्मको मूल कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनय राज पौडेलले संयुक्त रूपमा तयार गरेका छन् । दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्नेछन् । फिल्म भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।








