फिल्म । लेखक तथा निर्देशक जीवन सिंहको डेब्यु निर्देशन रहेको फिल्म ‘हन्टर’ आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बिहीबार एक ‘फेस-अफ’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा अभिनेता अरुण क्षेत्री र प्रकाश शाह आमनेसामने देखिएका छन् । प्रकाश शाहको आँखामा देखिएको आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्किएको प्रतिशोधले दुई पात्रबीच तीव्र द्वन्द्व र संघर्ष हुने संकेत गर्छ ।
पोस्टरले ‘हन्टर’ र ‘सिकार’ बीचको खेललाई समेत प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ । पोस्टरको माथिल्लो भागमा द्वन्द्व र तनाव देखिए पनि तल्लो भागमा अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ । यसले फिल्ममा एक्सनसँगै प्रेमकथाले पनि महत्वपूर्ण स्थान पाएको संकेत गर्छ ।
निर्देशक सिंहका अनुसार ‘हन्टर’को कथा समाजका वास्तविक पात्र र घटनाबाट प्रेरित छ । फिल्ममा एक्सन, प्रेम, भावना र द्वन्द्वलाई समेटिएको बताइएको छ ।फिल्ममा अरुण क्षेत्री, प्रकाश शाह र सुप्रज्ञा शर्मासहित गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्मा र लालबहादुर थापालगायत कलाकारको अभिनय रहेको छ ।










