फिल्म । भारतमा फिल्मसँगै सेलिब्रेटीहरूको पारिश्रमिक पनि बढ्दै गएको छ, जसले फिल्मको बजेटलाई निकै महँगो बनाएको छ । बक्स अफिसमा फिल्म हिट भएमा निर्माताले लगानी उठाउँछन्, तर फ्लप भएमा ठूलो नोक्सान बेहोर्नुपर्छ । यद्यपि, बलिउडका केही सुपरस्टारहरू पारिश्रमिकभन्दा नाफाको हिस्सामा ध्यान दिन्छन्, जसले उनीहरूलाई आर्थिक जोखिमबाट जोगाउँछ ।
शाहरुख खानले फिल्मका लागि निश्चित शुल्क लिँदैनन्, बरु नाफाको हिस्सा लिने सम्झौता गर्छन् । उनका पछिल्ला फिल्महरू ‘पठान’, ‘जवान’ र ‘डंकी’ सुपरहिट भए, जसमा उनले पारिश्रमिकको सट्टा नाफाको हिस्सा लिएर उल्लेख्य कमाइ गरे । शाहरुख झैँ बलिउडका ‘भाइजान’ अर्थात् सलमान खान आफ्नै प्रोडक्सन हाउसमार्फत फिल्म निर्माण गर्छन् ।
उनले फिल्मका लागि शुल्क लिँदैनन्, तर स्याटेलाइट राइट्स, डिजिटल राइट्स र नाफाको हिस्साबाट कमाइ गर्छन् । ‘बजरंगी भाइजान’बाट उनले ठूलो रकम कमाएका थिए । उनले अभिनय गर्ने फिल्ममा उनको होम प्रोडक्सन पनि निर्माताको रुपमा जोडिने गर्छ । बलिउडका अर्का खान अर्थात् आमिर खानले पनि पारिश्रमिकको सट्टा नाफाको हिस्सा लिन रुचाउँछन् ।
आफ्ना फिल्महरूबाट उनले सधैं मनग्य आम्दानी गर्छन्, जसले उनलाई बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’को रूपमा स्थापित गरेको छ । अक्षय कुमार अक्षय कुमारको आफ्नै प्रोडक्सन हाउस छ, जसअन्तर्गत धेरै फिल्म बनेका छन् । अन्य प्रोडक्सन हाउससँग काम गर्दा पनि उनले शुल्क लिँदैनन्, बरु नाफाको प्रतिशतमा सम्झौता गर्छन् । यो रणनीतिले उनलाई आर्थिक रूपमा बलियो बनाएको छ ।
ऋतिक रोशन अभिनेतामात्र होइनन्, धेरै फिल्ममा सह-निर्माता पनि हुन् । उनले शुल्कको सट्टा नाफाको हिस्सा लिन रुचाउँछन् । ‘कृष’ सिरिजजस्ता फिल्महरूमा उनले यही रणनीति अपनाएर कुनै शुल्क नलिएको बताइन्छ ।










