‘रिमै’ हेर्नेले के भने ?

फिल्म । आगामी शुक्रबार अर्थात् भदौ २० गते शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रिमै’ को रिलिजपूर्व आयोजना गरिएको प्रिमियरमा फिल्म हेर्नेले तारिफ गरेका छन् । गुरुङ समुदायको सांस्कृतिक झाँकीअन्तर्गत सोरठी नाच प्रस्तुत गरिएको थियो । फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ गुरुङ समुदायको परम्परागत भेषभूषामा प्रस्तुत भएका थिए ।

फिल्म हेरेपछि अभिनेता तथा निर्देशक विल्सन विक्रम राईले ‘रिमै’ मन छुने र गुरुङ समुदायमाथि बनेको हालसम्मकै उत्कृष्ट फिल्म भएको बताए । यस्तै, अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि फिल्म निकै उत्कृष्ट बनेको भन्दै सबै समुदायका दर्शकलाई यो फिल्म हेर्न अनुरोध गरे। अभिनेत्री रिश्मा गुरुङले आफ्नो ८ वर्षपछिको पुनरागमनप्रति उत्साहित भएको बताउँदै फिल्म हेर्दा रोचक अनुभव भएको साझा गरिन् ।

निर्देशक खिलबहादुर गुरुङले विगत तीन वर्षदेखि ‘रिमै’का लागि रातदिन मेहनत गरेको बताए । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्मित यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकारहरू असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय रहेको छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको यो फिल्मको छायांकन शैलेन्द्रध्वज कार्कीले गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको भूमिकामा छन् । संगीत दीपक शर्मा र थानेश्वर गौतमको छ । किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङ सम्पादक छन् ।

कमेन्ट गर्नुहोस्