शनिवार ५१औँ दिन मनाउँदै ‘लालीबजार’

फिल्म । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आगामी शनिबार प्रदर्शनको ५१औँ दिन मनाउने भएको छ । प्रदर्शनको ५१ दिन सफलतापूर्वक पूरा गरेको अवसरमा फिल्मका कलाकार तथा निर्माण टिम दर्शकसँग साक्षात्कार गर्न प्रदर्शनरत हलहरूमा पुग्ने भएका छन् ।

यस वर्ष हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्महरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्ममध्ये एक बनेको छ । घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको फिल्मको यात्रा अहिले १० करोड क्लबतर्फ उन्मुख छ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’को निर्देशन यम थापाले गरेका हुन् । यसअघि षट्कोण आर्ट्सले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’जस्ता सफल फिल्म निर्माण गरिसकेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन् । विशाल रंगमञ्चमा सक्रिय कलाकार हुन् भने प्रशंसा जेन-जी पुस्ताकी अभिनेत्रीका रूपमा परिचित छिन् । फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

कमेन्ट गर्नुहोस्