यस्तो छ ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर

फिल्म । देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको निर्देशक तथा निर्माता दिपेन्द्र केसीको वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरले वृत्तचित्रको विषयवस्तुसँगै यसले अन्तर्राष्ट्रियस्तरमा हासिल गरेका सफलतालाई समेत उजागर गरेको छ। श्यामश्वेत थिममा रोयल भीमसनेले डिजाइन गरेको पोस्टरमा विकट ग्रामीण परिवेशमा रहेका सन्चलाल र एक बालकको दृश्य समेटिएको छ। वृत्तचित्रले मकवानपुरको मनहरी क्षेत्रको जंगलबीच रहेको एक दुर्गम चेपाङ बस्तीमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति सन्चलालको जीवनकथालाई प्रस्तुत गरेको छ।

गरिबी, एक्लोपन र विभिन्न अभावका बाबजुद पनि जीवनप्रतिको आशा कायम राख्दै उनले गरेको संघर्ष र मौन साहसलाई वृत्तचित्रले मार्मिक ढंगले चित्रण गरेको छ । निर्देशक केसीले सन्चलालको जीवन भोगाइ तथा सीमान्तकृत समुदायको यथार्थलाई संवेदनशील रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

वृत्तचित्रले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ। अष्ट्रेलियामा आयोजित ‘टाइटान इन्टरनेसनल फिल्म फेस्टिभल’को सन् २०२५ को चौथो सिजनमा यसले उत्कृष्ट वृत्तचित्रसहित दुई अवार्ड जितेको थियो। साथै, ‘बलिउड एन्ड हलिउड फिल्म फेस्टिभल अष्ट्रेलिया २०२६’का लागि पनि यो वृत्तचित्र आधिकारिक रूपमा छनोट भएको छ।

वृत्तचित्रको लेखन निर्देशक दिपेन्द्र केसी र ईश्वर लुइँटेलले संयुक्त रूपमा गरेका हुन्। अर्जुन सापकोटा र हिमाल शर्माले छायांकन गरेको वृत्तचित्रको सम्पादन मदन घिमिरेले गरेका छन्। नेपाली समाजको एउटा लुकेको र यथार्थपरक कथालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन वृत्तचित्र सफल भएको निर्माण पक्षको विश्वास छ।

कमेन्ट गर्नुहोस्