‘एलिफेन्ट्स इन द फग’ लाई नेपालमा भव्य स्वागत

फिल्म । विश्वप्रसिद्ध कान्स फिल्म महोत्सव २०२६ मा सहभागी भएको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’का कलाकार तथा निर्माण टोलीलाई नेपालमा भव्य स्वागत गरिएको छ। उक्त फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भई विश्व प्रिमियर गरिएको ‘एलिफेन्ट्स इन द फग’ले सोही विधामा निर्णायक पुरस्कार (जुरी अवार्ड) जित्न सफल भएको हो।

फ्रान्समा सम्पन्न महोत्सवमा सहभागी भएर स्वदेश फर्किएका निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामालाई सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी तथा नेपाल पर्यटन बोर्ड का वरिष्ठ प्रबन्धक सूर्य थपलियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत तथा बधाई दिएका हुन्।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्राप्त अन्तर्राष्ट्रिय सम्मानले नेपाली फिल्मको कथ्य, शिल्प र प्राविधिक सम्भावनालाई विश्वसामु थप स्पष्ट बनाएको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाली फिल्म र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको भन्दै फिल्मकर्मीलाई बधाई दिए।

कार्यक्रममा निर्देशक अविनाशविक्रम शाहले फिल्म निर्माणका क्रममा विभिन्न चुनौती भए पनि देशमा पाएको सम्मानले आफू र सम्पूर्ण निर्माण टिम उत्साहित भएको बताए।

त्यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बोर्डले यसै साता विशेष सम्मान कार्यक्रम आयोजना गरी फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने जानकारी दिए। उनले उक्त फिल्मको उपलब्धिले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ आत्मविश्वास प्रदान गरेको उल्लेख गरे।

कमेन्ट गर्नुहोस्