फिल्म । गत शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०८३’को अवार्ड समारोहमा ‘ऊनको स्वीटर’ले उत्कृष्ट फिल्मसहित सर्वाधिक अवार्ड जितेको छ । फिल्म ‘ऊनको स्वीटर’ उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही फिल्मबाट विपिन कार्की उत्कृष्ट अभिनेता तथा नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भए ।
त्यसैगरी ‘जेरी अन टप’ बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने पल शाह लाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको थियो । कर्णाली एडिसन अवार्ड (निर्देशक) राजबहादुर सानेले प्राप्त गरेका छन् भने उदीयमान फिल्म निर्माता तथा वितरकको अवार्ड आशिष तामाङलाई प्रदान गरिएको छ ।
उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ले जितेको छ । यस्तै, कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’ का निर्माता सन्तोष सेन सम्मानित भए।
आफ्नो जीवनकै पहिलो अवार्ड प्राप्त गरेपछि अभिनेत्री जसिता गुरुङले खुशी व्यक्त गर्दै उक्त सम्मान सम्पूर्ण दर्शकप्रति समर्पण गरिन् । ‘सोसियल आइकन एक्टर अवार्ड’बाट सम्मानित पल शाहले यस अवार्डले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै आगामी दिनमा पनि आफ्नो संस्थामार्फत सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
पहिलो फिल्मबाटै उत्कृष्ट निर्देशकको अवार्ड जितेका नवीन चौहानले आफ्नो कामको मूल्याङ्कन भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरे । महोत्सवका सल्लाहकार तथा पूर्व रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लको अध्यक्षतामा सम्पन्न समारोहको प्रमुख आकर्षण ‘इतिहासलाई फर्केर हेर्दा : पहिलो फिल्म अवार्ड संवाद’ रहेको थियो।
वि.सं. २०४२ सालमा भारतीय अभिनेत्री शबाना आजमीलाई नेपाल बोलाएर पहिलो पटक ‘नेपाल फिल्म अवार्ड’ आयोजना गरेका वरिष्ठ कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा उक्त संवाद कार्यक्रम सम्पन्न भएको थियो।
वरिष्ठ निर्देशक तथा नेपाली फिल्मका इतिहासकार प्रकाश सायमीले सहजीकरण गरेको अन्तरक्रियामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ र वरिष्ठ अभिनेत्री शर्मिला मल्लले आफ्नो अनुभव साटेका थिए । समारोहमा वरिष्ठ कलाकार शिव श्रेष्ठ तथा महोत्सवकी संरक्षक एवं नेपाल उद्योग वाणिज्य महासंघ की पूर्वअध्यक्ष भवानी राणा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीको लुकेको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई नेपाली फिल्ममार्फत विश्वसामु परिचित गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए। उनले कला सम्मानसँगै फिल्मलाई पर्यटन प्रवर्द्धनसँग जोड्ने प्रयास भइरहेको पनि स्पष्ट पारे । त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ म्यानेजर सूर्य थपलियाले फिल्म र पर्यटनबीचको सम्भावना तथा त्यसमा पर्यटन बोर्डको भूमिकाबारे धारणा राखेका थिए ।
समारोहमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्ल, नेपाल फिल्म कलाकार संघका अध्यक्ष उत्तम केसी, फिल्म निर्देशक समाज नेपालका अध्यक्ष अरुण प्रधान, कलाकार तथा निर्देशक/निर्माता रेखा थापा, गीतकार हर्क साउद, महोत्सवकी सद्भावना दूत तथा अभिनेत्री सुरक्षा पन्त लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
यस वर्षको तेस्रो ‘कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ गत वैशाख १२ गते सुर्खेतबाट सुरु भएको थियो । त्यसपछि महोत्सवको स्थानीय संस्करणका रूपमा सल्यानको कुपिण्डे दह परिसरमा ‘कुपिण्डे दह फिल्म तथा पर्यटन महोत्सव’समेत आयोजना गरिएको थियो ।












