सङ्गीत । आमाको माया संसारकै सबैभन्दा निष्कलंक, निस्वार्थ र पवित्र सम्बन्ध हो । त्यही आमाप्रतिको श्रद्धा, प्रेम र कृतज्ञतालाई संगीत र दृश्यको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् युवा फिल्म निर्देशक सुमन दाहालले । विगत केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका सुमनले आफ्नी आमाको जन्मदिनलाई औपचारिक शुभकामनामा सीमित नराखी आफ्नै सिर्जना, भावना र परिवारलाई समेटेर ‘आमा’ शीर्षकको मर्मस्पर्शी म्युजिक भिडियो तयार पारेका छन् ।
यो कुनै सामान्य म्युजिक भिडियो मात्र नभई एउटा छोराको मनभित्र रहेको आमाप्रतिको अथाह प्रेमको अभिव्यक्ति हो । परदेशमा बसेर पनि आमाको अनुहार, माया, संघर्ष र त्यागलाई निरन्तर सम्झिरहने छोराले आफ्ना भावनालाई शब्द, संगीत र दृश्यमार्फत अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरेका छन् । भिडियो हेर्दा धेरै दर्शकले आफ्नै आमाको सम्झना गर्नेछन् । सुमनले आफ्नो पेशा, कला र सिर्जनशीलतालाई आमाप्रतिको सम्मानमा समर्पित गरेका छन् । त्यसैले यो म्युजिक भिडियो मनोरञ्जनमा मात्र सीमित नरही आमालाई सम्मान गर्ने प्रेरणादायी उदाहरणसमेत बनेको छ ।
भिडियोको अर्को विशेष पक्ष भनेको अभिनयमा बाहिरी कलाकारभन्दा आफ्नै परिवारका सदस्यलाई समावेश गर्नु हो। यसले भिडियोलाई अझ यथार्थपरक र आत्मीय बनाएको छ। आमाको भूमिकामा तुलसीदेवी दाहाल देखिएकी छन् भने जेठी छोरीको भूमिकामा मन्दिरा दाहाल, जेठो छोराको भूमिकामा भुवन लोहानी, कान्छी छोरीको भूमिकामा गरिमा पाण्डे र कान्छो छोराको भूमिकामा सम्राट दाहालले अभिनय गरेका छन्। युवा आमाको भूमिकामा सुजिता सिटौला देखिएकी छन् भने बाल कलाकार समीर दाहाल, साया भण्डारी, सावन लोहानी, अर्भी सुवेदी र अश्वत खनालले कथालाई अझ जीवन्त बनाएका छन्।
यही कारण भिडियोका दृश्यहरू कृत्रिमभन्दा बढी वास्तविक महसुस हुन्छन्। प्रत्येक दृश्यमा परिवारको आत्मीयता, प्रेम र सम्बन्धको न्यानोपन झल्किन्छ। भिडियोले आमा केवल एउटा पात्र नभई परिवारको धड्कन हुन् भन्ने सन्देश मार्मिक ढंगले प्रस्तुत गरेको छ।
गीतका शब्द स्वयं सुमन दाहालले लेखेका हुन्। उनले आमाको त्याग, संघर्ष, ममता र सन्तानप्रतिको समर्पणलाई अत्यन्त संवेदनशील ढंगले शब्दमा उतारेका छन्। निर्देशनमा पनि उनले भावनात्मक पक्षलाई प्राथमिकता दिएका छन्। दृश्य संयोजन, कथाको प्रवाह र भावनात्मक उतारचढावले दर्शकलाई अन्तिम दृश्यसम्म बाँधेर राख्न सफल देखिन्छ।
गायक प्रमोद खरेल र गायिका समीक्षा अधिकारीको स्वरले गीतलाई अझ कर्णप्रिय बनाएको छ । संगीतकार वसन्त सापकोटाले संगीतमार्फत गीतलाई भावनात्मक गहिराइ दिएका छन्। संगीत संयोजन राजु कार्कीले गरेका छन् भने रेकर्डिस्ट ज्ञानेन्द्र गिरी र मिक्सिङ/मास्टरिङ प्रकाश केसीको रहेको छ।
भिडियो सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् भने छायांकन राजु केसीको रहेको छ। रङ संयोजन रेनिस फागोले गरेका छन्। मेकअप सिर्जा अधिकारीले गरेकी हुन् भने पोस्टर डिजाइन नहाकुल खड्काले तयार पारेका छन्। म्युजिक भिडियोको पोस्ट-प्रोडक्सन किन्डल सिने स्टुडियोमा गरिएको छ।
तर यी सबै प्राविधिक पक्षभन्दा माथि उठेर दर्शकको मन छुने कुरा भनेको एउटा छोराको भावनात्मक समर्पण हो। आमाको जन्मदिनमा कसैले फूल दिन्छन्, कसैले केक काट्छन्, कसैले महँगा उपहार किनिदिन्छन्। तर सुमनले आफ्नी आमालाई समयले पनि नमेट्ने उपहार दिएका छन्ए, उटा यस्तो सिर्जना, जुन हरेक पटक सुन्दा आमाको माया झल्किनेछ र हरेक पटक हेर्दा सन्तानको प्रेम अनुभूति हुनेछ।
‘आमा’ म्युजिक भिडियो अब सुमन दाहालको परिवारमा मात्र सीमित रहने छैन। यो हरेक नेपाली छोराछोरीको भावना बन्ने विश्वास गरिएको छ। आफ्नी आमालाई माया गर्ने, सम्मान गर्ने र धन्यवाद भन्न चाहने सन्तानका लागि यो एउटा भावनात्मक कोसेली बन्न सक्छ। आमाको जन्मदिनमा बजाउन मिल्ने, आमालाई सम्झिँदा हेर्न मिल्ने र आमाको काखको न्यानोपन अनुभूति गराउने दुर्लभ सिर्जनामध्ये एकका रूपमा यो भिडियो स्थापित हुने अपेक्षा गरिएको छ।
संसारमा सबैभन्दा ठूलो कलाकार त्यही हुन्छ, जसले मानिसको मन छुने कला जान्दछ। सुमन दाहालले यसपटक त्यही प्रयास गरेका छन्ए, उटा गीतमार्फत हजारौं सन्तानलाई आफ्नी आमाको सम्झनामा भावुक बनाउने प्रयास ।












