माइकलले घोषणा गरे ‘हेराई’

फिल्म । गत वर्ष प्रदर्शन भएको फिल्म ‘राम नाम सत्य’ का निर्देशक माइकल चन्दले नयाँ फिल्म हेराई निर्देशन गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको फिल्मको घोषणा गरिएको हो ।

निर्माण टिमका अनुसार फिल्मको प्रि-प्रोडक्सन कार्य तीव्र रूपमा अघि बढिरहेको छ । केही महिनाभित्रै फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको निर्देशक चन्दले जानकारी दिएका छन् ।

यसपटक माइकलले पूर्ण रूपमा प्रेमकथामा आधारित फिल्म निर्माण गर्न लागेको बताएका छन् । उनको अघिल्लो फिल्म ‘राम नाम सत्य’ एक्सन जनरामा आधारित थियो । उक्त फिल्मले नेपाली बक्स अफिसमा करिब साढे तीन करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

‘एक हेराई अनेक बुझाइ’ ट्यागलाइन रहेको फिल्मका लागि हालसम्म कलाकार भने अन्तिम गरिएको छैन । फिल्मका निर्माता किशोर भट्ट, हेमन्त शाह र श्वेता विमली रहनेछन् । यस्तै, सह-निर्मातामा राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् ।

फिल्मबारे निर्देशक माइकल चन्दले मानिसअनुसार दृष्टिकोण फरक हुने विषयलाई कथामार्फत प्रस्तुत गरिने बताए । उनका अनुसार ‘हेराई’ फरक-फरक सोच र बुझाइको कथा हो । निर्माण पक्षले फिल्म यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्