फिल्म । आज शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मालती मंगले’ लाई ग्रान्ड प्रिमियरमा हेर्ने तारिफ गरेका छन् । प्रिमियरमा उपस्थित विशिष्ट व्यक्तित्वले फिल्मले उठाएको विषयवस्तु र त्यसको प्रस्तुतिले २ घण्टा ३८ मिनेटसम्म बाँधेर राख्न सफल भएको बताए । प्रिमियरपछि कलाकारहरूको अभिनयको विशेष प्रशंसा गरिएको थियो । अभिनेता विजय बरालको स्वाभाविक अभिनयले फेरि एकपटक दर्शकको ध्यान खिचेको छ भने अभिनेत्री वर्षा राउतले आफ्नो करिअरकै उत्कृष्ट अभिनय दिएको प्रतिक्रिया प्राप्त भएको छ ।
त्यस्तै, टेलिभिजन कार्यक्रममार्फत कमेडी कलाकारका रूपमा परिचित मेक्सम गौडेलले यस फिल्ममार्फत ठूलो पर्दामा बलियो उपस्थिति जनाएको प्रतिक्रिया दर्शकले दिएका छन् । उनको अभिनयलाई फिल्मको प्रमुख आकर्षणमध्ये एक मानिएको छ। फिल्मको प्रिमियरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि उपस्थित भएका थिए । निर्माता तथा गायक रामकृष्ण ढकालका पुराना साथीसमेत रहेका लामिछानेले फिल्मले नेपाली समाजको महत्वपूर्ण कथा उठाएको प्रतिक्रिया दिए ।
‘धेरै समयपछि फिल्म हेर्ने अवसर पाएँ । फिल्म निकै राम्रो छ। कमेडी, भावना, कलाकारहरूको अभिनय र संवाद सबै पक्ष राम्रो लाग्यो। निर्देशक नयाँ भए पनि प्रस्तुति अनुभवी निर्देशकको जस्तै लागेको छ’, उनले पत्रकारसँग भने ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि फिल्मको प्रशंसा गरेका थिए । प्रिमियरमा कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्रीलगायत फिल्मकर्मी, सञ्चारकर्मी तथा संगीत र फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो । रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको कथा निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन् ।
फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मन्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह निर्माताका रूपमा रहेका छन् । महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर तथा डिकेश खड्गीको ध्वनि मिश्रण रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गरेको छ ।












