फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ले वैशाख १९ गतेसम्मको तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार नयाँ वर्ष लक्षित गरी प्रदर्शनमा आएका फिल्म ‘पहाड’, ‘राम नाम सत्य’ र ‘परालको आगो’ को व्यापार सार्वजनिक भएको हो ।
गत चैत २७ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले हालसम्म ३ करोड ३९ लाख ७३ हजार ४६६ रुपैयाँ कमाइ गरेको छ । फिल्मका लागि कुल १ लाख २० हजार ९२६ टिकट बिक्री भएका छन् । माइकल चन्द निर्देशित उक्त फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, सुनिल थापा, सुधिर श्रेष्ठ, आयुष सिंह ठकुरी र खुसी कार्कीको अभिनय रहेको छ । निर्देशक चन्दले सामाजिक सन्देशसँगै मनोरञ्जन दिने उद्देश्यले फिल्म निर्माण गरिएको बताएका छन् ।
वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पहाड’ले ६३ लाख ९३ हजार १५२ रुपैयाँ कमाइ गरेको छ । तुलसी घिमिरे निर्देशित उक्त फिल्मका लागि कुल २० हजार २६५ टिकट बिक्री भएका छन् । फिल्मले वैदेशिक रोजगारीका कारण रित्तिँदै गएको पहाडी समाज र त्यसले निम्त्याउने सामाजिक-आर्थिक समस्यालाई प्रस्तुत गरेको छ । फिल्ममा बिपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनु नाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ ।
वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले ३ करोड १२ लाख १७ हजार ९२ रुपैयाँ कमाइ गरेको छ । सुशील पोखरेलद्वारा निर्मित र लक्ष्मण सुनार निर्देशित उक्त फिल्मका लागि कुल १ लाख १० हजार ४४२ टिकट बिक्री भएका छन्। गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मञ्जिला बानियाँको अभिनय रहेको छ।










