कस्तो छ ‘मालती मंगले’को ट्रेलर ?

फिल्म । आगामी वैशाख २५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मालती मंगले’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले ‘मालती मंगले’लाई पूर्ण पारिवारिक र सामाजिक कथामा आधारित फिल्मका रूपमा प्रस्तुत गरेको छ। ट्रेलरमा मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम, सम्बन्धमा आउने दरार तथा पारिवारिक खटपटलाई देखाइएको छ। साथै, अभिनेता मेक्सम गौडेल हरि नामक नकारात्मक भूमिकामा देखिएका छन्। साथीभाइबीचको सम्बन्ध र त्यसमा आउने उतारचढावलाई पनि ट्रेलरमा समेटिएको छ।

फिल्मले छोरा–छोरीबीच समाजमा व्याप्त विभेदकारी सोचलाई उठान गरेको देखिन्छ। ‘नाक फुटेको मात्र देखिस्, नाक काटेको देखिनस्’ भन्ने संवादले सामाजिक प्रतिष्ठा जोगाउन मानिसले भोग्नुपर्ने बाध्यतालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। ट्रेलरमा ‘झ्याम पारम’ र ‘सुनैको सपनी’ गीतका केही आकर्षक दृश्यहरू पनि समावेश छन्।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको कथा निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्। फिल्ममा विजय, वर्षा र मेक्समका साथै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ। यसअघि फिल्मको टिजर र ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ तथा ‘झ्याम पारम’ गीत सार्वजनिक भइसकेका छन्।

फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह–निर्माताका रूपमा रहेका छन्। महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि सङ्गीत तथा डिकेश खड्गीको ध्वनि मिश्रण रहेको फिल्मको प्राविधिक पक्ष बलियो देखिएको छ। आरआर फिल्म्सले वितरण गर्ने यो फिल्मले वैशाख २५ गतेदेखि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने निर्माण पक्षको विश्वास छ।

कमेन्ट गर्नुहोस्