‘परालको आगो’को बुकिङ खुल्यो

फिल्म । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सोमबारदेखि केही हलमा बुकिङ सुरु भएको यो फिल्मको बुधबार बिहानदेखि भने देशभर उत्साहजनक रूपमा बुकिङ खुलेको हो । देशभर हालसम्म फिल्मले एक सयभन्दा बढी शो पाएको छ । दर्शकको उत्साहलाई ध्यानमा राख्दै हल सञ्चालकहरूले उच्च शो उपलब्ध गराएको जनाइएको छ । बिहीबारसम्म शो सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ ।

१३५ मिनेट रनटाइम रहेको यस फिल्मले ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । ट्रेलर र गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको आकर्षण बढेको निर्माण पक्षले जनाएको छ । गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ ।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ । फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् भने भिएफएक्स समिर मिया र सत्यम रानाले तयार पारेका छन् ।

यसैगरी, टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका छन् । फिल्ममा किरण तुलाधरको पाश्र्व संगीत, शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको संगीत रहेको छ । गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन् ।

सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ ।वैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘परालको आगो’प्रति दर्शकमाझ उच्च चर्चा रहेको छ । निर्माता सुशील पोखरेलले फिल्मप्रति आफू विश्वस्त रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्