‘परालको आगो’ बारे के भन्छन् निर्माण पक्ष

फिल्म । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ सार्वजनिक गीत, ट्रेलर र मेकिङका कारण चर्चामा छ । फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतको सशक्त अभिनय देख्न सकिने निर्माण पक्षले जनाएको छ । अघिल्ला फिल्महरूको तुलनामा सुहानाको फरक प्रस्तुति रहेको बताइएको छ ।

फिल्मका निर्माता सुशील पोखरेलले आफ्नो निर्माणमा तयार भएको यो फिल्मले दर्शकमाझ गहिरो छाप छोड्ने विश्वास व्यक्त गरेका छन् । ‘मैले धेरै फिल्म निर्माण गरेको छु । ती फिल्महरूसँग तुलना गर्दा ‘परालको आगो’ले दर्शकको मनमा विशेष छाप छोड्नेमा म ढुक्क छु’, उनले भने ।

निर्मातासँगै निर्देशक लक्ष्मण सुनार पनि फिल्मप्रति उत्तिकै आशावादी छन् । फिल्ममा नयाँ शैलीको मेकिङ प्रस्तुत गरिएको दाबी गरिएको छ, जसले दर्शकमा उत्सुकता बढाएको छ । ‘यो फिल्म केवल कथामा मात्र होइन, प्रस्तुतीकरणका हिसाबले पनि फरक र विशेष अनुभव दिनेछ’, निर्माता पोखरेलले बताए ।

यस फिल्ममा संलग्न कलाकारहरूले पहिलो पटक एउटै पर्दामा सहकार्य गरेका छन् । यसले उनीहरूको केमेस्ट्री अझै नयाँ, स्वाभाविक र प्रभावकारी देखिने अपेक्षा गरिएको छ । फिल्मका लेखक सुशील देवकोटाले आफूले लेखेको कथाभन्दा फरक ढंगले फिल्म निर्माण भएको बताएका छन् ।

यो फिल्म साहित्यकार गुरु प्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’मा आधारित रहेको छ । उक्त कथा नेपाली साहित्यमा चर्चित मानिन्छ । निर्देशक लक्ष्मण सुनार ‘बुलाकी’ जस्ता फिल्ममार्फत पहिचान बनाइसकेका छन् भने निर्माता सुशील पोखरेलले ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’ र ‘राधे’ लगायतका सफल फिल्ममा लगानी गरिसकेका छन् ।

यसै कारण पनि ‘परालको आगो’प्रति दर्शकमाझ व्यापक चासो र कौतुहलता बढेको निर्माण पक्षको विश्वास छ ।

कमेन्ट गर्नुहोस्